१ लाख ४८ हजार अस्थायी मतदाता
Friday, November 11th, 2022, 2:07 pm
Kalpristha
अस्थायी मतदान केन्द्रका मतदाता सूचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सूचीकृत भएका छन् ।
निर्वाचन आयोगले १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । मंसिर ४ मा हुने आमचुनावमा उनीहरूले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउनेछन् ।
देशैभर २५ हजार ९ सय ६ कैदी र बन्दी भए पनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून छन् । केन्द्रीय कारागार सुन्धारामा ३ हजार ४ सय कैदी रहेकामा मतदाता २० जना मात्रै रहेको कारागार विभागले जनाएको छ ।
मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीका करिब एक हजार कैदीबन्दीमध्ये २८ जनाले मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फ मत दिन पाउनेछन् ।
कास्की जिल्ला कारागारका ७ कैदीबन्दी मतदानमा सहभागी हुनेछन् । यहाँ ८ सय ४५ कैदीबन्दी छन् । ७ सय ८० भन्दा बढी कैदीबन्दी रहेको बाँके कारागारमा रहेका दुई जनाले मात्रै मतदान गर्न पाउनेछन् ।
यस्तै, सुनसरीको झुम्का कारागारका झन्डै १ हजार ८ सय कैदीबन्दीमध्ये ४१ जना र अछाम जिल्ला कारागार मंगलसेनमा रहेका ८६ मध्ये ७ जना कैदीबन्दीले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन् ।
आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी र वृद्धाश्रममा रहेका वृद्धवृद्धा कति छन् छुट्याएर सार्वजनिक गर्न चाहेको छैन ।
मतदाता नामावली ऐनमा अस्थायी मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न सकिने व्यवस्था भए पनि आयोगले प्रतिनिधिसभामा मात्रै मतदान गर्न पाउने व्यवस्था गरेको हो ।
सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।