नेपाल यू–१५ महिला साफको च्याम्पियन
Friday, November 11th, 2022, 6:38 pm
Kalpristha
नेपालले बंगलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपाली महिला फुटबलको उमेर समूहमा यो ऐतिहासिक उपाधि हो । नेपाली महिला टोलीको कुनै पनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।
खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।
त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो । यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो । बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो ।
प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत यस अघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १–० को जित निकालेको थियो । बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८–० र दोस्रो भेटमा ९–० को जित निकालेको छ ।