मतदाता शिक्षालाई प्रभावकारी बनाउन कल सेन्टर सञ्चालन
Saturday, November 12th, 2022, 5:40 pm
Kalpristha
निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु–याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ ।
आयोगले सञ्चालनमा ल्याएको टोल फ्री नं। ११०२ मा सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सकिने आयोगले जनाएको छ ।
२४ घण्टै खुला रहने यो फोनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्यक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिने व्यवस्था मिलाइएको छ ।
त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतस् रेकर्ड हुने व्यवस्था छ । तिनको जवाफ पछि कर्मचारीहरूले दिने आयोगले जनाएको छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत वा निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत पनि पठाउन सकिने आयोगको भनाइ छ ।
नागरिकता लगायतका कुनै पनि प्रमाणले भोट हाल्न पाइने वा नपाइने भनी सोधिएको प्रश्नमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको जनाइएको छ ।