सेयर बजार सकारात्मक
Monday, November 14th, 2022, 6:46 pm
Kalpristha
नेपालगन्ज : गत हप्ता देखि निरन्तर ओरालो लागेर ८२ अंकले घट्दै सेयर बजार कारोबार सोमबार लयमा फर्किएको छ । बजार सोमबार दोहोरो अंकको वृद्धिसहित बन्द भएको हो । नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ पनि ४.५१ अंकले बढेको छ । करिब एक हप्ता निरन्तर घटेको सेयर बजार चुनावको मुखमा अर्थतन्त्रमा सुधार हुने संकेतले बढेको हो ।
यसका साथै लामो समय बजार घटेकाले आज सस्तो मूल्यमा सेयर उठाउने लगानीकर्ता बढेसँगै बजार सकारात्मक देखियो । हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक उपसमूह अन्तर्गतका कम्पनीहरुमा खरिदकर्ताको चाप छ । यी उपसमूह करिब २ प्रतिशतले बढेका छन् भने बाँकी उपसमूह पनि सामान्य बढेका छन् ।
यस्तै परिसूचक सकारात्मक बनेसँगै कारोबारमा पनी सुधार देखिएको छ । दिनभरको कारोबार अवधिमा २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा ९४ करोड माथिको कारोबार भएको छ । आइतबार १०.५४ अंकले घटेको बजारमा ७७ करोड बराबरको सेयर कारोबार भएको थियो ।
कारोबारका अधारमा शिवम् सिमेन्ट अग्र स्थानमा छ । कम्पनीको १० करोड माथिको सेयर किनबेच भएको हो । यस्तै हिमालय डिष्टीलरीको करिब ९ करोडको कारोबार भएको छ ।
साथै तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक बढेको छ । यस होटलको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको हो ।