इंग्ल्यान्डको सानदार जित
Monday, November 21st, 2022, 9:21 pm
Kalpristha
ग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६–२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।
खेलको ३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
खेलको ४४ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता २–० को बनाए । पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा ३–० ले अघि रह्यो ।
खेलको ६२ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४–० को अग्रता दिलाए । ६५ औं मिनेटमा तारेमीले गोल गर्दै इरानलाई ४–१ को स्थितिमा ल्याए ।
खेलको ७१ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका हुन् ।
खेलको ९० औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि इंग्ल्यान्ड ६–२ ले विजयी भयो ।
इंग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले सहज गोल गरे ।