बाँकेको निर्वाचनमा देखिएका ‘टर्निङ प्वान्टहरु’
Tuesday, November 22nd, 2022, 9:34 am
Kalpristha
देशभरमा देखिएझै बाँकेमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र केहि नयाँ पार्टीहरुको प्रभाव देखियो । जसले बाँकेको केहि मतपरिणाममा ‘टनिङ प्वान्ट’ को काम गर्ने सम्भावना देखिएको छ ।
सौरभ राना
खजुरा, ६ मंसिर
देशको प्रमुख राजनिति शंक्ति नजिक रहेको जिल्ला हो बाँके । जहाँ राज्यसत्ता संचालनमा सहभागि हुने नेताहरुको प्रतिस्पर्धाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निकै रोचक बनाउने गरेको छ ।
यसलाई बाँकेको क्षेत्र नम्बर १ बाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उप–महानगर पालिका निर्वतमान मेयर डा. धवल शमशेर राणा र क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरको उम्मेदवारीले पुष्टि गर्छ ।
प्रतिनिधि सभा तर्फ बाँके क्षेत्र नम्बर २ को प्रतिस्पर्धा निकै उत्कर्षमा पुगेको थियो यसपटक । प्रारम्भिक मतगणनामा राप्रपा र एमालेको संयुक्त उम्मेदवार बनेका धवलले अग्रता लिएका छन् ।
निर्वाचनको दिन मंसिर ४ गते नजिकिै गर्दा बाँके क्षेत्र नम्बर २ को विजेता बन्ने दौडमा डा. धवल र इस्तियाक राईको कडा प्रतिस्पर्धा थियो । त्यसमा कांग्रेसको मत निर्णायक मानिएको थियो ।
बाँके २ नम्बर क्षेत्रमा विगतको मतपरिणाम हेर्ने हो भने नेपाली कांग्रेस अगाडी छ । तर यसपटक कांग्रेसले आफनै मत जोगाउन नसक्दा त्यसको फाइदा धवललाई भएको देखिन्छ ।
किनकी कांग्रेसको उम्मेदवारले जित्न नसक्ने अनुमान बढन थालेपछि २ नम्बर क्षेत्रमा रहेका कांग्रेसका केहि नेताहरु र क्रियासिल सदस्यहरु दुइ धु्रव, धवल कि इस्तियाक राई कित्तामा विभाजित हुने निश्चित थियो । सुरुआती मतपरिणामले कांग्रेसका धेरै कार्यकर्ताले विगतमा जस्तै धवललाई रोजेका छन् ।
यसअघि धवलले नेपालगन्जको मेयरमा चुनाव जित्दा समेत कांग्रेसका धेरै समर्थकले उनलाई भोट हालेका थिए । दुइ पटक मन्त्री भैसकेका जसपाका वरिष्ट नेता इस्तियाक राई र राप्रपाका महामन्त्री धवलको प्रतिस्पर्धालाई ‘काटेका टक्कर’ का रुपमा हेरिएको छ । चुनावका दौरान दुबैले एक अर्कालाई निकै आरोप प्रत्यारोपमा समय खर्चेका थिए ।

……..
यसैगरी बाँकेको क्षेत्र नम्बर ३ किशोर सिंह राठौरलको उम्मेदवारले देशभरको ध्यान तानेको छ । किनकी राठौर नेपाली कांग्रेसका प्रभावशाली नेता हुन । लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसको पदाधिकारी हुने एकमात्र नेता हुन । उनले पछिल्लो समय बाँके र बर्दियाबाट राजनिति गरिरहेका छन् ।
रुखो स्वभाव भएपनि उनी पार्टीमा इमानदार नेताका रुपमा परिचित छन् । आर्थिक प्रलोभनमा नफस्ने स्वभावका राठौर प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् । यसपटक उनले बर्दियालाई छाडेर बाँके क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन । उनको प्रतिस्पर्धा थियो नेकपा एमाले बाँके अध्यक्ष एवम् खजुरा गाउँपालिका निर्वतनमा अध्यक्ष किस्मत कुमार कक्षपतिसँग ।
एमाले पार्टीमा कक्षपति छोटो समयमा शक्तिशाली बनेका नेता हुन् । खजुरा गाउँपालिकाको अध्यक्ष भएर काम गरिसकेका कक्षपति ३ नम्बर क्षेत्रमा प्रभावशाली नेताका रुपमा चिनिएका छन् ।
३ नम्बर क्षेत्रको चुनावी दौडको ‘टनिङ प्वान्ट’ बनेको थियो प्रदेश(१) मा भएको उतार चढाव । बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (१) तर्फ लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवारको विषयलाई लिएर निकै तनावपुर्ण अवस्था सृजना भयो । ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभा कांग्रेसले पाएको थियो । प्रदेश तर्फ (१) मा माओवादी केन्द्र र (२)मा नेपाली कांग्रेस उम्मेदवार पायो ।
सुरुआतमा माओवादी केन्द्रमा प्रदेश सासद भैसकेका इन्द्रप्रसाद खरेल(आइपी)ले प्रदेश सभा३ (१) को टिकट पाए । तर उनको उम्मेदवारीलाई लिएर माओवादीको स्थानीय तहका नेता दुई ध्रुवमा विभाजित भए । जसको प्रत्यक्ष असर राठौरले पर्ने देखिन्थ्यो ।
राठौरलाई अर्को तनावको विषयको थियो आफनै पार्टीबाट बिद्रोह गरेर गएका चन्तराम थारु ।
चुनाव नजिकिदै गर्दा कांग्रेसका प्रभावशाली स्थानीय नेता चन्तरामले कांग्रेस छोडेर नागरिक उन्मुक्ति पार्टीबाट प्रदेभ सभाको उम्मेदवार बने । यसको असर पनि राठौरलाई परेको थियो ।
यता एमाले उम्मेदवार कक्षपतिले पनि चुनाव दौरान आफनै पार्टीबाट यसअघि प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय र बाबुराम गौतमले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको मार खेप्नु परेको थियो ।
पाँच वर्षमा खजुराबाटै प्रतिनिधि सभा, प्रदेश सभा सदस्य भए । कक्षपति आफैले गाउँपालिकाको नेतृत्व गर्दा खजुराका जनताले थुप्रै असन्तुष्टि प्रकट गरिरहेका थिए । आफनै पार्टीका नेताले काम गर्न नसकेको मार र पार्टीभित्रको असन्तुष्टि किस्मतका प्रमुख चुनौति थिए । त्यसलाई चिदै उनी गठबन्धनका बलिया उम्मेवारसँग प्रतिस्पर्धामा उत्रिएका हुन् ।
बाँके क्षेत्र नम्बर १ मा गठबन्धन तर्फबाट उम्मेदवार बनेका महेश्वर गहतराज बलिया उम्मेदवार हुन् । तर उनलाई खेलकुद मन्त्री भएर आफनो क्षेत्रमा प्रभावशाली काम गर्न नसकेको आरोप थियो । त्यसको फाइदा थियो एमालेका उम्मेदवार सुर्य ढकाललाई । देशभरमा देखिएझै बाँकेमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र केहि नयाँ पार्टीहरुको प्रभाव देखियो । जसले बाँकेको केहि मतपरिणाममा ‘टनिङ प्वान्ट’ को काम गर्ने सम्भावना देखिएको छ ।