इस्तियाक हार्नुका कारणहरु
Wednesday, November 23rd, 2022, 9:16 am
Kalpristha
निर्वाचनका बेला राप्रपाका उम्मेदवार डा. धवलले सार्वजनिक रुपमै इस्तियाकलाई आर्थिक चलखेल गरेको आरोप लगाए । त्यसको जवाफ इस्तियाकले कडा रुपमा दिएका पनि थिए । तर ती जवाफले निर्वाचनमा हुने क्षतिलाई भने रोक्न सकेनन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ मंसिर
प्राय सधै जस्तो यसपटक बाँके क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तर्फको प्रतिनिस्पर्धा निकै रोचक थियो । किनकी यस क्षेत्रबाट निर्वाचित भएर गएका नेता स्व. सुशिल कोइराला देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति भएर इतिहास बनाएका छन् ।
बाँके क्षेत्र नम्बर २ मिश्रित धर्म, जाती र समुदायको बाहुल्यता भएको ठाउँ हो ।
यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए यसपटक दुइ पटक मन्त्री भैसकेका जनता समाजवादी नेता मोहम्मद इस्तियाक राई, राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा र नेपाली कांग्रेसका सुदिप नरसिंह राणा ।
निर्वाचन सुरु हुनु अघि नै बलिया उम्मेदवार थिए इस्तियाक राई ।
तर प्रारम्भिक नतिजाले उनी हारउन्मुख बाटोमा देखिन्छन् । तेस्रो पटक सासद बन्ने दौडमा किन कमजोर भए इस्तियाक भन्ने बारेमा सबैका आ–आफना तर्क छन् । उनी कमजोर हुनुमा एउटा प्रमुख कारण सत्तागठबन्धन हो ।
बाँके क्षेत्र नम्बर २ मा सुरुआत देखि नै कांग्रेसले जसपाका इस्तियाकलाई समर्थन गर्ने पक्का थियो । त्यो अवस्थामा इस्तियाकले सहजै चुनाव जित्ने सम्भावना थियो ।
प्रतिनिधि सभामा इस्तियाकले टिकट पाउने सम्भावना धेरै देखेर कांग्रेसका प्रभावशाली नेताले प्रदेश टिकट लिने प्रयास गरेका थिए ।
निर्वाचनको अन्तिम समयमा आएर जसपाले लोकतान्त्रिक–बाम गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्ने निर्णय गरेको थियो । जुन निर्णय जसपाका लागि घातक सावित हुने देखियो । सप्तरी–२ मा चुनाव लडेका जसपाका अध्यक्ष उपेन्द्र यादव सिके राउतसँग हार्ने करिब पक्का जस्तै छ । पुर्वी तराईबाट यादव र पश्चिम नेपालबाट इस्तियाक मधेश आन्दोलनबाट उदाएका नेता हुन् ।
२०६३ को मधेश आन्दोलनले उनीहरुलाई केन्द्रिय राजनितिमा शंक्तिशाली बनाएको थियो । सत्तामा पुगेपछि मधेशको मुद्धालाई बिर्सेर सत्तागठबन्धनमा लिप्त भएको आरोप जसपालाई लाग्यो । जसका कारण यसपटक निर्वाचनले मधेशको प्रमुख दलको हैसियत जसपाले गुमाउने पक्का छ । त्यो स्थान सिके राउतको जनमत पार्टीले लिने सम्भावना बढेर गएको छ ।
यता सत्तागठबन्धनबाट बाहिरिदा बाँकेमा इस्तियाक राईलाई पनि ठुलै धक्का पुगेको छ ।
जसपाले एमालेसँग गठबन्धन गर्ने निर्णय ग¥यो तर बाँकेमा भने एमालेले राप्रपासँग तालमेल गरेको छ । राप्रपा र एमालेको संयुक्त उम्मेदवार धवल, जसपाका इस्तियाक र कांग्रेसका सुदिपको बिच बाँके– २ मा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।
यस्तो अवस्थामा जति धेरै उम्मेदवार भए त्यति फाइदा थियो इस्तियाकलाई । कांग्रेस २ नम्बर क्षेत्रमा बलियो भएपनि यसपटक कांग्रेसका उम्मेदवारको चर्चा धेरै हुन सकेन् । त्यसको फाईदा थियो धवल र इस्तियाकलाई ।
निर्वाचन नजिकिदै गर्दा बाँके –२ को निर्णायक मत भने कांग्रेसी मत थिए । कांग्रेसको उम्मेदवारले जित्ने निश्चित नभएपछि त्यो मत क्रस हुने धेरै सम्भावना थियो । अन्तमा त्यही भयो । क्रस हुने मत कसले धेरै तान्ने ? धवलले कि इस्तियाकले भन्ने दौड पनि निकै चल्यो । अहिले धवलले पाएको मतको आधारमा कांग्रेसको धेरै मत धवललाई गएको देखिन्छ् ।
एक किसिमले भन्ने हो भने इस्तियाक यसपटक घेराबन्दीमा परेका थिए । जसलाई तोड्न निकै कठिन थियो । पार्टी सत्ता गठबन्धनबाट अन्तिम समयमा बाहिरिनु, आफनै पुर्व सहयोगी फरक पार्टीबाट उठनु, केहि नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारको प्रभाव बढनु जस्ता कारण इस्तियाकका लागि बाधक बने । पार्टी भित्र पनि उनलाई बिरोध गर्नेको समुह बढदै गएको देखिन्छ् । त्यसले पनि उनलाई असर गरेको छ ।
सबै भन्दा प्रमुख निर्णायक कांग्रेस समर्थकको मत नै थियो । मंगलबार राती १० बजे सम्मको अपडेटमा ४९१५२ मत गणना हुँदा धवलले २२६०१, इस्तियाकले १६१४८, सुदिपले ३११९ मत पाएका छन् । कांग्रेसका सुदिप भन्दा प्रदेश सभा (१) दौडमा तेस्रो बनेका कांग्रेसका राज कुमार कुर्मीले ८७३१ मत पाएका छन् ।
उक्त प्रदेशबाट जसपाका भण्डारीलाल यादव विजयी भैसकेका छन् । प्रदेश २(२)बाट जसपाका आदेश अग्रवालले पनि अग्रता लिइरहेका छन् । तर इस्तियाकले भने दुइ प्रदेश सभाका उम्मेदवार भन्दा कम मत पाएका छन् । यसले पनि पुष्टि गर्छ कांग्रेसको धेरै मत धवललाई गएको छ ।
इस्तियाक हार्नुमा अर्को कारण उनलाई राजनितिमा धेरै आर्थिक चलखेल गरेको आरोप लाग्ने गरेको छ । निर्वाचनका बेला राप्रपाका उम्मेदवार डा. धवलले सार्वजनिक रुपमै इस्तियाकलाई आर्थिक चलखेल गरेको आरोप लगाए । त्यसको जवाफ इस्तियाकले कडा रुपमा दिएका पनि थिए । तर ती जवाफले निर्वाचनमा हुने क्षतिलाई भने रोक्न सकेनन् ।