बाँके- ३ बाट किशोर सिंह राठौर विजयी
Thursday, November 24th, 2022, 10:03 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ८ मंसिर
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सह– महामन्त्री किशोर सिंह राठौर विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका राठौरले नेकपा एमालेका किस्मत कुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतले पराजित गरेका छन् ।
राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतिले २४ हजार २ सय ४७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ३९ मत र चौथो भएका जनता समाजवादीका नेता नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत प्राप्त गरे ।
यसैगरी बाँके क्षेत्र नम्बर ३(२)बाट लुम्बिनी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस बादशाह कुर्मी विजयी भएका छन् । प्रदेश सभामा विजयी भएका बादशाह दुइ पटक संविधान सभा सदस्य भैसकेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बादशाहले नेकपा एमालेका भीम ओलीलाई २ हजार ४ सय ८३ मतले हराउँदै विजयी भएका छन् ।
बाँके क्षेत्र नम्बर ३(२)मा खसेको ३३ हजार ९ सय ६५ मतमा बादशाहले १३ हजार ४ सय ३३ र एमालेका भीम ओलीले १० हजार ९ सय ५० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका जनता समाजवादीका विजय कुमार पाठकले ४ हजार ४ सय ५१ मत पाए । जनमत पार्टीका शहानुददीन अन्सारीले २ हजार २ सय मत प्राप्त गरे ।