राष्ट्रिय राजनितिको आधार कोर्दै राठौर
Thursday, November 24th, 2022, 5:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ८ मंसिर
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका किशोर सिंह राठौर विजयी भएका छन् । राठौरले नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतले पछाडी पारे ।
चुनाव जित्न राठौरका लागि त्यति सहज थिएन । उनले सुरुआतबाटै कसरी चुनावी अभियानमा होमिएका थिए, आउनुहोस त्यसको केहि चर्चा गरौं ।
उत्साहका साथ चुनावी अभियान सुरु गरेका किशोरका लागि बाँके क्षेत्र नम्बर ३ बाट सफलता पाउन त्यति सहज थिएन । सुरुमै उनलाई प्रतिपक्षले लगाएको आरोप थियो ‘टुरिस्ट उम्मेदवार’ । तर त्यो आरोप किशोरका लागि न्यायचित थिएन । किनकी बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका मुख्य उम्मेदवार किशोर, किस्मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देबेन्द्र नाथ शुक्ला तिनै जना रैथाने उम्मेदवार होइनन् ।
‘टुरिस्ट उम्मेदवार’ भन्ने तर्क नै सामान्य आलोचना गर्ने विषय मात्र थियो विपक्षीहरुको लागि । किनकी नेपालको संविधानले हरेक नागरिकलाई देशको जुनसुकै स्थानबाट उम्मेदवार बन्ने सक्ने व्यवस्था गरेको छ । यसपटक क्षेत्र नम्बर ३ मुख्य प्रतिस्पर्धा कांग्रेसका किशोर र एमालेका किस्मतकै थियो ।
यी दुबै उम्मेदवार आ–आफनो पार्टीमा प्रभावशाली नेतामा गनिन्छन् । किशोर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पदाधिकारी बन्ने लुम्बिनी प्रदेशबाट एक्लो नेता हुन् । उनी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन । यता नेकपा एमाले जिल्ला अध्यक्ष हुन किस्मत । उनी पनि पुर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
बाँके क्षेत्र नम्बर ३ एमालेको बलियो पकड भएको क्षेत्र हो । यसअघि एमालेका दुइ नेता नन्दलाल रोकायले प्रतिनिधि सभा र बाबुराम गौतमले प्रदेश सभा सदस्य जितेका थिए । तर पाँच वर्षमा उनीहरुले जनचाहना अनुसार काम गर्न नसकेको आरोप थियो ।
त्यो गुनासो जनताले मतमा पनि प्रकट गर्ने करिब पक्का थियो । प्रतिनिधि सभा उम्मेदवार बनेका किस्मत आफै पनि खजुरा गाउँपालिका अध्यक्षको रुपमा काम गरिसकेका नेता हुन् । उनले गाउँपालिकामा केहि नमुना योजनाहरु सुरुआत गरेका थिए । तर ति योजना अपुरै भएका कारण उनी प्रति खजुराका जनता रुष्ट थिए । त्यसको प्रत्यक्ष फाइदा थियो नेपाली कांग्रेसका उम्मेदवार किशोरलाई ।
एमाले संगठनात्मक रुपमा बलियो पकड भएको पार्टी हो । खजुरा र बैजनाथ गाउँपालिकामा एमालेको बलियो पकड थियो । तर पछिल्लो समय एमालेभित्र आन्तरिक किचलो पनि बढदो क्रममा छ । त्यो सार्वजनिक रुपमा नदेखिएपनि पार्टी भित्र स्पष्ट दुई गुट छन् । त्यसले एमालेका उम्मेदवारलाई केहि हद सम्म निर्वाचनका दौरान क्षति गरेको छ ।
यता लोकतान्त्रिक बाम गठबन्धनको तर्फ साझा उम्मेदवार बनेका किशोरका लागि पनि थुप्रै चुनौतिहरु थिए । सुरुआतमै बाँके क्षेत्र नम्बर ३(१)को प्रदेश सभाको आधिकारिक उम्मेदवारको विषयलाई लिएर एउटा मतभेद सुरु भयो ।
माओवादी केन्द्रबाट सूरुमा आइपी खरेल उम्मेदबार बने । तर पछि उनलाई स्थानीय सगठनका नेताले अस्विकार गर्दै स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई अगाडी सारे । एकीकृत समाजवादी पार्टी परित्याग गरि चुनावको नजिक माओवादी प्रवेश गरेका दलबहादुरलाई किशोरले समर्थन गर्ने निर्णय गरे । त्यो निर्णय निकै कष्टपुर्ण थियो । किनकी राठौरले दलबहादुर र आइपी मध्ये एकलाई रोज्नै पर्ने बाध्यता थियो । त्यस्तोमा उनले दलबहादुरलाई रोजे ।
राठौरका लागि अर्को चुनौति भनेको कांग्रेस पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तराम थारु थिए । थारु कांग्रेसका प्रभावशाली स्थानीय नेता हुन । उनी यसअघिको प्रदेश सभा निर्वाचनमा आइपी खरेलसँग पराजित भएका थिए । उनले पार्टी छोडनु पनि राठौरका लागि घाटाको विषय थियो ।
आन्तरिक रुपमा थुप्रै विवाद र अन्तर कलहलाई पन्छाउँन सफल भए राठौर । राठौरको जितको आधार कोर्ने अर्को प्रमुख कारण थियो आफनै पार्टी भित्र नेता र कार्यकर्ता ।
बाँके क्षेत्र नम्बर ३ मा कांग्रेस कमजोर छ । संगठन कमजोर भएपनि कांग्रेसका नेता भन्दा तल्लो तहका कार्यकर्ताले राठौरलाई जिताउन निकै इमानदार भएर मिहिनेत गरे । जसले राठौरको जितको आधार तय गर्न सहज बनाई दियो । जसले राठौरलाई राष्ट्रिय राजनितिमा पश्चिम नेपालको प्रभावशाली नेताका रुपमा स्थापित गर्ने आधार कोरिदिएको छ ।