छाडा पशु चौपाया व्यवस्थापन अभियान सुरु गर्दै नेपालगन्ज
Thursday, November 24th, 2022, 6:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ मंसिर
नेपालगन्ज उप-महानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ । विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगन्ज-२१ विर्तास्थित कान्जीहाउस लैजान थालिएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लाग्नुभएको छ । नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया कान्जीहाउस लगिएको छ । कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।
सडकमा छाडा पशु चौपाया बढ्न थालेपछि उपमहानगरपालिकाले नियन्त्रण र व्यवस्थापन थालेको हो । छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताउनुभयो ।
“दैनिकरुपमा नै अब सडकबाट छाडा पशु चौपाया धपाएर काञ्जीहाउस लैजान्छौं,” नगर प्रमुख विष्टले भन्नुभयो-“छाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।” सडकमा जथाभावी पशु चौपाया छोड्ने विरुद्ध कडा ढंगले प्रस्तुत हुने विष्टको भनाई छ ।
जथाभावी पशु चौपाया छोड्नेहरुले काञ्जी हाउसमा पुर्याइएका छाडा पशु चौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दछ । सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उप-महानगरपालिकाले जनाएको छ ।