युवा भनेको गगन र विश्वप्रकाश मात्रै होइननः राठौर
Monday, November 28th, 2022, 9:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ मंसिर
नेपाली काँग्रेसका केन्द्रिय सह–महामन्त्री किशोरसिंह राठौंरले पार्टीले जिम्मेवारी दिए आफुपनि देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफु अबको प्रधानमन्त्री भनेर प्रचार गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा राठौरले यस्तो जवाफ दिएका हुन् ।
महामन्त्री थापाले भनेर मात्र प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहेको सह–महामन्त्री राठौरले बताए ।
उनले भने,‘प्रधानमन्त्री को बन्छ भन्ने विषय ठुलो होइन । अहिलेको हाम्रो साझा एजेन्ड के बनाउने भन्ने कुरा मुख्य होला । त्यसपछि त्यसलाई कार्यान्वय गर्ने काम जो प्रधानमन्त्री भए पनि हुन्छ । अहिले नै म प्रधानमन्त्री बन्छु भन्ने कुरा गलत हो । पार्टी भित्र छलफल हुन्छ त्यसका लागि । योग्य व्यक्ति प्रधानमन्त्री बन्ने हो । व्यक्तिगत चाहनाले होइन ।’
युवा प्रधानमन्त्री बनाउने विषयमा पार्टी भित्र छलफल भएमा सबैभन्दा बढी हकदार आफु हुने राठौरले बताए । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै राठौरले पार्टी र गठबन्धनभित्र छलफल नहुँदै प्रधानमन्त्री बन्ने विषयलाई ब्यक्तिगत रुपमा चर्चामा ल्याउन उचित नहुने बताए ।
उनले भने,‘युवा भनेको गगन थापा र विश्वप्रकाश शर्मा मात्र होईनन, उहाँहरुभन्दा सिनियर म छु, म पनि युवा नै हो, म पनि तयार छु नि प्रधानमन्त्री चलाउनलाई । उहाँ (गगन थापा) स्ववियु सदस्य हुँदा म त्रिचन्द्र कलेजको स्ववियु सभापति थिए, म पनि तयार छु नि युवामा, गगन जि मात्र होईन, अरु साथीहरु प्रदिप जि पनि तयार हुनुहुन्छ ।’

……
युवा प्रधानमन्त्री चाहिएको भए पार्टी भित्र छलफल हुनुपर्ने सह–महामन्त्री राठौंरले बताए । उनले थपे, ‘युवा जेनेरेसन चाहिएको हो भने छलफल गरौं न, गगन नै मात्र किन त ? या विश्व प्रकाश मात्रै किन त ? ह्वाई नट प्रदिप, ह्वाई नट किशोर राठौंर, ह्वाईनट अरु । युवा भनेपछि गगन र विश्व प्रकाश मात्रै होईन नि, हामीले अवसर पाएका छैनौ, हामीले अवसर पाउने हो भने देखाईदिन्छौं, हामीले हिजोका दिनमा देखाएका पनि छौं ।’
थापा र शर्मालाई विश्वास गरेर पार्टीका नेता, कार्यकर्ताले महामन्त्री बनाएकाले उनीहरुले पार्टीलाई नै बनाएर देखाउनुपर्ने सुझाव दिए । उनले भने, ‘पार्टीलाई बनाएर देखाएको हामी हेर्न चाहन्छौं, त्यसमा हामीले के सहयोग गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौ ।
पत्रकारको जिज्ञासामा राठौंरले संगठनको कमजोरी र नेतृत्व तहमा भएका नेताहरुले काम नगरेका कारण कतिपय ठाउँमा पार्टीले चुनाव हार्नुपरेको बताए । उनले भने, ‘पार्टीको जिम्मेवार तहमा बसेर पार्टीलाई असहयोग गरेका कारण पनि हार भएको हामीले महसुुस गरेका छौं । भोलीका दिनमा यो कुराको छानविन हुन्छ, पार्टीको क्रियाशिल सदस्य भनेको नेता हो, पार्टीको क्रियाशिल सदस्य भएर पार्टीलाई सहयोग नगर्ने पार्टी विरोधी कुरा हो, यसले पार्टीलाई अगाडी बढाउन सक्दैन ।’
पार्टीभित्र बसेर पार्टीलाई घात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी अगाडी बढ्न नसक्नेमा जोड दिए । अनुशासन नभए घर नबन्ने र पार्टीभित्र अनुशासन, त्याग, तपस्या र बलिदान नभएमा पार्टी नबन्ने उनको बुझाई छ । अहिलेका युवाले पाउने कुरा मात्रै गर्ने गरेको बताए ।
पत्रकार भेटघाटमा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राठौर र बाँके क्षेत्र नम्बर ३(२)बाट निर्वाचित बादशाह कुर्मीलाई मायाको चिनो प्रदान गरेका थिए ।