तिन इन्जिनियर र उपभोक्ता समिति अध्यक्ष विरुद्ध भ्रष्टाचारको आरोप
Thursday, December 1st, 2022, 7:33 pm
Kalpristha
बाघमारे बाटोको स्तरउन्नतीका लागि विनियोजन भएको रकम प्राविधिक र निर्माण समितिका अध्यक्ष समेतको मिलेमतोमा आफनो अनुकुल इष्टिमेट परिवर्तन गरी उक्त सडक निर्माण गरि रकम हिनामिना गरेको आरोप उनीहरुलाई लागेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ मंसिर
इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे सहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर १ स्थित रिखेवगर गैरीकटेरी बाघमारे मोटरबाटोको स्तरउन्नतीको योजनामा भ्रष्टाचार गरेको आरोपमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङका तत्कालिन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे, तत्कालिन इन्जिनियर सन्तोष कुमार यादव, सव–इन्जिनियर नाराण ओली सहित सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष विरुद्ध मुद्धा दायर गरिएको हो ।
बाघमारे बाटोको स्तरउन्नतीका लागि विनियोजन भएको रकम प्राविधिक र निर्माण समितिका अध्यक्ष समेतको मिलेमतोमा आफनो अनुकुल इष्टिमेट परिवर्तन गरी उक्त सडक निर्माण गरि रकम हिनामिना गरेको आरोप उनीहरुलाई लागेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङका तत्कालिन कार्यालय प्रमुख समेत रहेका डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे, इन्जिनियर यादव, सब–इन्जिनियर ओलीले आर्थिक वर्ष २०७४–७५ मा रिखेवगर गैरीकटेरी बाघमारे दाङ सडक निर्माणको लागि सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरीत भेरिएशन स्वीकृत नगरी आफुखुशुी बदनियतपुर्वक आफुलाई सजिलो पर्ने गरी जथाभावी निर्माण कार्य गरी मुल्याकन विल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन पेश गरेको आरोप लागेको छ ।
उनीहरुले योजना योजनाको स्वीकृत लागत अनुमान अर्थात डिजान र नम्र्स विपरीत उपभोक्ता समितिलाई ४३ लाख २२ हजार १ सय ५५ रुपैयाँ ६६ पैसा भुक्तानी दिई नेपाल सरकारलाई हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा(१) को खण्ड(ग) बमोजिमको कसुर गरेकोले निजहरु उपर बिगो स्वरुप उक्त रकम सोही ऐनको दफा ८ को उपदफा(१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिबाना गरी बिगो असुल उपर गर्न अख्तियारले माग गरेको छ ।
यसैगरी रिखेवगर गैरीकटेरी बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मन बहादुर खत्री, कोषाध्यक्ष शोभा कुमारी खत्री सचिव लाल बहादुर केसी उक्त सडक निर्माण गर्दा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङसँग गरेको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरीत काम गरेको आरोपमा उनीहरु विरुद्ध मुद्धा दायर भएको छ ।
सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरीत भेरिएशन स्वीकृत नगराई जथाभावी निर्माण कार्य गरी मुल्याकन विल नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको आरोप उनीहरुलाई पनि लागेको छ ।