देशलाई प्रयोगशालाको रुपमा प्रयोग गर्न दिनु हुंदैन : चौधरी
Thursday, December 1st, 2022, 8:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ मंसिर
नेपाल एक प्रयोगशालाको रुपमा प्रयोग हुने त हैन भन्ने विषयमा चिन्ता र चासो व्यक्त गरिएको छ । नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाको विजयी सदस्यहरुलाई शुभकामना तथा बधाई कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
नेपाल उद्योग तथा व्यावसयी महासंघको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सो सन्दर्भमा योजनावद्व ढंगले बहस र पैरवी नगर्ने हो भने देश ठुलो दुर्घटनामा जाने आशंका उनिहरुले व्यक्त गरेका हुन् ।
निर्वाचनमा मतदानका क्रममा मतपत्रमा लेखिएका ‘‘नो भोट’’ र ‘‘संघियता खारेज गरौं’’ जस्ता अभिव्यक्तिले जनतामा राजनीतिक नेतृत्वप्रति वितृष्णा पैदा भएको प्रष्ट देखिने कुरा उल्लेख गर्दै उनिहरुले यस सन्दर्भमा कसैको बहकाउमा नलागी विषयको गाम्भिर्यताका बारेमा बुझ्न जरुरी रहेको बताएका थिए । नेपाल भरखरै संघियताको दोस्रो अध्यायमा प्रवेश गरेको कुरा उल्लेख गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर १(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दुर्गा चौधरीले ठुलो संघर्ष पश्चात निर्माण भएको संधिय गणतान्त्रिक नेपाललाई प्रयोगशालको रुपमा प्रयोग गर्न दिन नहुनेमा सबैको ऐक्यबद्वता जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य डा. धवल सम्शेर राणाले फरक प्रसंगमा संस्थागत भ्रष्ट्राचार नरोके सम्म नेपाली उद्योग र व्यावसाय नफस्टाउने कुरामा जोड दिंदै राज्यसंरचनामा रहने सबै व्यक्तिले घुस नलिने नितिको अवलम्बन गर्न जरुरी रहेको बताए ।
३ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले व्यावसायीक अफ्ठयाराहरुको समाधानका निमित्त निति निर्माणमा पहल गर्ने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा.धवल शम्शेर राणा र किशोर सिंह राठौर तथा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, दुर्गा प्रसाद चौधरी, रत्न खत्री, बादसाह कुर्मी र आदेश कुमार अग्रवाल लगायतले धारणा राखेका थिए ।
नेपाल उद्योग तथा व्यावसयी महासंघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा बाँकेका व्यावसायीहरुको सहभागिता रहेको थियो ।