बाँकेमा ६० जनाको जमानत जफत
Friday, December 2nd, 2022, 6:00 am
Kalpristha
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका ७ जना उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाकै १४ जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट ६ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज: बाँकेको तिन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका ६० जनाको जमानत जफत भएको छ ।निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । जुन व्यवस्था अनुसार बाँकेबाट प्रदेश र प्रतिनिध सभा गरि ६० जनाको मत १० प्रतिशत पुग्न नसकेपछि धरौटी रकम जफत हुने भएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका ७ जना उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाकै १४ जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट ६ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ बाट ११ जनाले प्रतिनिधि सभाको उम्मेदवारी दिएका थिए । जसमध्ये ७ जना उम्मेदवारको धरौटी जफत भएको हो । धरौटी जफत हुने प्रतिनिधि सभाका उम्मेदवारमा जसपाका राम कुमार यादव, स्वतन्त्र उम्मेदवार प्रदिप कुमार शाह, राम चरण चौधरी, नेपाल मजदुर किसान पाटीका नवीन कुमार शाही, नेपालका लागि नेपाली पार्टीका भक्त बहादुर थापा मगर, नेपाली काग्रेस (बी.पी.) का कुन्ती शर्मा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उब्जङ शाही रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा भने नेपाली काँग्रेसका सुदीप नरसिंह राणा सहित, राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद कुमार अग्रहरी, स्वतन्त्र उम्मेदवार इरफान अहमद शेख, नेपाल कम्युनिष्ट पाटी माक्सवादी (पुष्पलाल)का खलु प्रसाद थारु, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अब्दुल हन्नान जसगढ, जनमत पार्टीका बाबु खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रमेश शर्मा अर्याल, जन समाजवादी पार्टीका लिलौ दर्जी, स्वतन्त्र उम्मेदवार समसुल हक राई, नेपाल मजदुर किसान पार्टीका वखत बहादुर थापा, स्वतन्त्र उम्मेद्वार बागेश्वर चौलागाई, राष्ट्रिय जनमुक्ति पार्टीका विधा शर्मा र स्वतन्त्र उम्मेदवार राहुल जयसवाल गरि १४ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा प्रतिनिधि सभाका लागी १६ जनाको उम्मेदवारी दिएका थिए ।
प्रतिनिधि सभाका लागि ९ जनाको उम्मेदवारी परेको बाँकेको क्षेत्र नम्बर ३ मा भने ६ जनाको जमानत जफत भएको छ । ंजसमा जसपाका नोयन्द्र धिताल, जनमत पार्टीका राजु प्रसाद कुर्मी, नेपाल कम्युनिष्ट पार्टी माक्ससवादी (पुष्पलाल)का वीर बहादुर ओली क्षेत्री, लोकतान्त्रिक समाजवादी पार्टीका हफिज पठान, नेपाली कांग्रेस (बी.पी.)का दुर्गा बहादुर घिमिरे र नेपाल मजदुर किसान पार्टीका नगेन्द्र बहादुर बुढाक्षेत्री रहेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि ३ वटै निर्वाचन क्षेत्रबाट ३६ जनाले उम्मेदवारी दिएका थिए ।
यसैगरि निर्वाचन क्षेत्र नम्बर १(क) र १(ख)मा ४–४ जना उम्मेद्वारको धरौटी जफत भएको छ । निर्वाचन क्षेत्र नम्बर २(क)मा ८ जना र २(ख)मा ७ जनाको धरौटी जफत भएको छ । ३ नम्बर क्षेत्रको ३(क)मा ४ जना र ३(ख)मा ६ जनाको धरौटी जफत भएको छ । बाँकेका ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ५३ जना उम्मेद्वारले प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेद्वारी दिएका थिए । जसमध्ये ३३ जनाको धरौटी जफत भएको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभाका लागि १० हजार, प्रदेश सभाकालागि ५ हजार र दलित, महिला, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका उम्मेदवारहरुको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।