नेपालमा घटने भएन पेट्रोलको मुल्य
Sunday, December 4th, 2022, 11:36 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ मंसिर
विश्व बजारमा मुल्य घटेपनि नेपालमा पेट्रोलियम पदार्थको मुल्य घटाउन सक्ने अवस्था नरहेको नेपाल आयल नियमले जनाएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आएपछि नेपालमा पनि मुल्य घटाउन दबाब बढेको थियो । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले तत्काल मुल्य घटाउन सक्ने अवस्था नरहेको नियमले बताएको छ ।
शुक्रबार नियमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएकोले नेपालमा मुल्य घटाउन सक्ने अवस्था नरहेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट मंसिर १५ मा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मुल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।
‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर दुई सय ७७.०२ घाटा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।’
ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मुल्य घट्दा पनि यथावत राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मुल्य यथावत राखिएको छ निगमले बताएको छ ।