अतिविपन्न बालबालिकाको पढाई खर्च व्यहोर्ने सांसद खत्रीको घोषणा
Sunday, December 4th, 2022, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ मंसिर
लुम्बिनी प्रदेशका सांसद रत्नबहादुर खत्रीले अति विपन्न तीन घरपरिवारका बालबालिकालार्ई पाँच बर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी वहन गर्ने घोषणा गरेका छन् । बाँके, प्रदेश सभा–३ (क) बाट निर्वाचित खत्रीले आफ्नो निर्वाचन क्षेत्रका बालबालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।
एमाले निर्वाचन परिचालन कमिटीको बैठकमा आइतबार खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका दलित मधेसी–मुस्लिम र थारु समुदायका १÷१ जना गरी ३ जना विद्यार्र्थीको पाँच बर्ष सम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी आफुले बहन गर्ने घोषणा गरेका हुन् ।
प्रदेश सांसद खत्रीले पार्टी कमिटीले अति विपन्न घर परिवारका बालबालिकाको पहिचान गरि छनोट गर्ने बताए । जनतासँगको सम्बन्धलाई बलियो बनाउन निर्बाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरि समन्वयको काम अघि बढाउने बताए ।
सम्पर्क कार्यालयमा समन्वयका लागि एक जना कर्मचारी ब्यवस्था गर्ने उनले जनाए । खत्रीले निर्वाचनको समयमा प्रत्येक महिनामा एक दिन निर्वाचन क्षेत्र अन्तर्गतका हरेक वडाका गाउँ बस्तीमा प्रत्यक्ष पुगेर निरन्तर जनतासँग अन्तरक्रिया गरि अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
निर्वाचन परिचालन समितिका संयोजक एवम् एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले निर्वाचनका समयमा जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्न निर्वाचित सांसदसँगै पार्टी कमिटी पनि प्रतिबद्ध भएर लाग्ने बताए ।