राँझामा बन्ने भयो बहुउद्देश्यीय भवन
Friday, December 9th, 2022, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ मंसिर
नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरे । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ ।
हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताए । बहुउद्देश्यीय भवन एडिबीको सहयोग र खानेपानी तथा ढल निकास विभागको समन्वयमा बन्न लागेको नगरपालिकाका सब–इन्जिनियर समेत रहेका प्राविधिक सम्पर्क व्यक्ति पवन बुढाले जानकारी दिए ।
१ करोड ६६ लाख ९६ हजारको लागतमा भवन बन्न लागेको हो । महामारीजन्य रोगहरुलाई लक्षित गरेर होल्डिङ सेन्टरका रुपमा उपयोग गर्ने उद्देश्यका साथ भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताए ।
विष्टले बहुउद्देश्यीय भवनको छेउँमा १५ शैयाको अस्पताल बनाउने योजना पनि रहेको जानकारी दिए । शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवी लगायत उपस्थित रहेको थियो ।