धान बेचेर श्रीमानको डायलायसिस
Saturday, December 10th, 2022, 6:00 am
Kalpristha
रामप्यारीका श्रीमान जस्तै खजुरा गाउँपालिका–३ का ७६ बर्षकी नारायणी देवि श्रेष्ठले पनि ६ महिना पछि मात्रै डायलायसिस गर्ने पालो पाईन् । गत चैतबाट उपचार सुरु गरेकी श्रेष्ठको यहि भदौमा मात्रै पालो आयो ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २३ मंसिर
बर्दिया राजापुरका रामप्यारी थारुले आफ्ना श्रीमानको डायलायसिसका लागि पालो कुरेको तीन महिना भयो । सबै कागजात ठिक्क पारेर पालो कुर्दापनि अहिले सम्म पालो आएको छैन । नेपालगन्ज स्थित भेरी अस्पतालमा भदौ २२ गते बाट पालो कुरेकी रामप्यारीले श्रीमान बचाउनकै लागी विभिन्न समयमा निजि स्वास्थ्य संस्थाहरुमा डायलायसिस गर्ने गरेकी छन् ।
‘कमैयाका सन्तान हामीहरुसंग न पैसा छ न पुँजी छ । भात खाने धान बेचेर श्रीमानको डायलायसिस गरिरहेको छु । भएभरको सबै सम्पति सकियो । हामीले निःशुल्क पाउने भनेको औषधी समेत पाउन सकेका छैनौ । बाहिर गएर किन्नुपर्ने अवस्था छ ।’– रामप्यारीले गुनासो पोखिन् ।
‘निजि अस्पतालहरुमा १ पटकको ७ देखि १० हजार सम्म खर्च लाग्छ । हामी खेतिकिसानी गर्ने र ज्याला मजदुरी गर्नेहरुले संधै संधै कसरी निजी अस्पतालमा खर्च गर्न सक्छौं । तर,पनि बाध्यता छ हाम्रो । पालो कुर्दाकुर्दै ज्यान गयो भने के हुन्छ ? हप्ता मा २ पटक गर्नुपर्ने डायलायसिस म १ पटक पनि धौधौ गरिरहेकी छु । श्रीमान बचाउनलाई ऋण गरेर भएपनि म वहाँको डायलायसिस गरिरहेको छु ।’
क्याप्सन : श्रीमानको डायलासिस गर्ने पालो पर्खिरहेकी रामप्यारी थारु(विच) र उनका श्रीमान(बाँया) । साथमा डायलासिस गरिरहेकी नारायणी श्रेष्ठकी छोरी सुभद्रा श्रेष्ठ । तस्विर : कालपृष्ठ
रामप्यारीका श्रीमान जस्तै खजुरा गाउँपालिका–३ का ७६ बर्षकी नारायणी देवि श्रेष्ठले पनि ६ महिना पछि मात्रै डायलायसिस गर्ने पालो पाईन् । गत चैतबाट उपचार सुरु गरेकी श्रेष्ठको यहि भदौमा मात्रै पालो आयो । पालो पाएकोमा उनी खुसी त छिन् तर, उपचारका क्रममा अस्पतालबाट निशुल्क पाउनुपर्ने औषधी नपाउदा उनलाई उपचार त्यति सहज छैन ।
‘हामी सामान्य परिवारका मान्छे हामीलाई स–सानो रकमको पनि ठुलो महत्व हुन्छ । स्वास्थ विमा गरे वापत पाउने निशुल्क औषधी अस्पतालमा छैन, भने हामी कसरी सहज उपचार पाउन सक्छौं ।’– उनको छोरी सुभद्रा श्रेष्ठले गुनासो पोखिन् ।
रामप्यारीका श्रीमान र नारायणी देवि श्रेष्ठ त प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता थुप्रै विरामीहरुले महिनौं देखि पालो पर्खिरहेका छन् । २७ जनाले अहिले डायालायसिसको सेवा लिईरहेको भेरि अस्पतालमा अहिले ८६ जनाले पालो कुरिरहेका छन् । १० वटा मेसिन भएपनि अस्पतालले भने विभिन्न कारण देखाउदै ४ वटा मेसिन मात्रै सन्चालनमा ल्याएको छ । २४ घण्टामा तीन चरणमा सन्चालन हुने डायलायसिस सेवा १ पटकमा ४ घण्टा सन्चालन हुन्छ ।
सरकारको लगानीमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भैरहेको डायलायसिस सेवा सरकारले पैसा नदिएको भन्दै केहि दिन देखि बन्द छ । जसका कारण मृर्गौलाका विरामीहरुले झनै सास्ती पाइरहेका छन् । भेरीमा आउने विरामीहरुको चाप पनि बढेको छ । भेरी अस्पतालमा विषेश गरि बर्दिया र बाँकेका विरामीहरु यहाँ डायलायसिसका लागि आउने गर्दछन् ।
अस्पतालमा भएका थप ६ वटा डायलायसिस गर्ने मेसिनको ‘आरो’ पानी डिफेक्ट निस्केका कारण ति मेसिनहरु सन्चालनमा ल्याउन नसकेको अस्पतालका पारामेडिक कर्मचारी राम कोठारी थारुले जानकारी दिए । अस्पतालले ति मेसिन सन्चालन गर्नका लागि नयाँ पानी जाँचका निमित्त शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु काठमाडौ पठाईसकेको जानकारी दिए । पारामेडिक कर्मचारी थारुले त्यसको रिपोर्ट नआएकोले सन्चालनमा ढिलाई भएको कालपृष्ठ दैनिकलाई बताए ।