जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका ५ बालिकालाई माइती नेपालले पढाउने
Wednesday, December 14th, 2022, 5:44 pm
Kalpristha
जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ ।
१६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिन तयार भएको प्रदेश सभा सदस्य राजीवविक्रम शाहले बताए ।
आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिए ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिमा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन् ।
अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ। स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ।
सोमबार जाजरकोटको छेडागाड नगरपालिका–४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थिए ।