बिहिबार नेपालगन्जमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै, तयारी पुरा
Wednesday, December 14th, 2022, 7:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ मंसिर
आज बिहिबार नेपालगन्ज रंगशालामा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको आयोजले बताएको छ ।
मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले उक्त कन्सर्ट आयोजना गर्न लागेको हो । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले अपरान्हबाट आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् ।
सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा बताए । आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
कन्सर्ट मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ लगायत विभिन्न समितिका पदाधिकारीले कन्सर्टको तयारीबारे पत्रकारलाई जानकारी गरेका थिए । दानवीर एवं समाजसेवी जे.के. सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ ।
सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले बिहीबार अपरान्ह साढे ५ बजेभित्र सबै दर्शक कार्यक्रम स्थलमा प्रवेश गरिसक्नुपर्ने बताए । कार्यक्रममा सहभागी हुन आउने दर्शकले प्रयोग गर्ने सवारी साधन पार्किङ गर्ने ब्यवस्था रामलिला मैदानमा मिलाइएको उनले जानकारी गराए ।
कार्यक्रम स्थलमा कन्सर्टको लामो भिडियो रेकर्ड तथा लाईभ गर्न, पानीका बोतल, चाउचाउ लगायतका प्याकिङ गरिएका खानेकुरा लैजान पूर्ण रुपले निषेध गरिएको शाहले बताए । उनले भने, ‘हामीले दर्शकहरुका लागि शौचालय र खानेपानीको ब्यवस्था कार्यक्रम स्थलमै मिलाएका छौं, एक पटक कार्यक्रम स्थलमा प्रवेश गरिसकेपछि टिकट वा पास बाहक ब्यक्ति बाहिर निस्केको खण्डमा अर्को पटक प्रवेश गर्न पाउँदैन।’
सरकारी तथा संस्थान समन्वय समितिका संयोजक गोविन्दप्रसाद पाण्डेले नेपथ्य लाइभ कन्सर्टप्रति बाँके र बर्दियामा रहेका सरकारी र संस्थान कार्यालय तथा कर्मचारीहरुले महत्वका साथ हेरेको बताए । सो क्रममा टिकट तथा प्रायोजन ब्यवस्थापन समितिका अध्यक्ष विष्णु मैनालीले करिव ६ हजार टिकट विक्री गर्ने आफुहरुले लक्ष्य लिएको बताए ।
कन्सर्टका मिडिया तथा प्रचार संयोजक शुक्रऋषि चौलागाईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा मानव सेवा आश्रमकी केन्द्रिय सदस्य सिर्जना ओलीले कार्यक्रमका विषयमा जानकारी गराएकी थिइन् ।