‘पत्रकारको कलम सकारात्मक सोचवाट चल्नु पर्छ’
Saturday, December 17th, 2022, 8:20 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २ पुस
जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले पत्रकारले सकारात्मक सोचवाट कलम चलाउनु पर्ने बताएका छन् । मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र स्वतन्त्र पत्रकारिता हाम्रो सरोकार भन्ने नाराका साथ पत्रकार महासंघ जिल्ला शाखाको ११ औ साधारण सभालाई सम्बोधन गर्दै समन्वय प्रमुख रोकायाले पत्रकारिता सबैको मुल्यावन पेशा भएको उल्लेख गर्दै स्वतन्त्र र निर्भिक भएर समाजको बिकृति र भ्रष्टाचार लगायत विकास निर्माणका वारेमा कलम चलाउनु पर्ने बताए ।
कार्यक्रमका विशेष अतिथी तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले आफु सदैव पत्रकारिताको पक्षमा रहेको उल्लेख गर्दै सरकारी कार्यालयवाट प्रवाह गरिने सुचनामा कुनै कसुर बाँकी नराख्ने बताए । समाजका जातीय विभेद कुस्कारका घटनालाई उजागर गरी सभ्य समाज निर्माणका साथै लोकतन्त्रको रक्षा र स्थायित्वको लागि पत्रकारिताको महत्वपुर्ण भुमिका हुने समेत प्रजिअ अधिकारीले बताए । ठूलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष भक्तबहादुर भण्डारीले पत्रकार महासंघको भवन नभएर पत्रकारहरुलाई समस्या परिरहेकाले भवन निर्माणको लागि आफ्नो तर्फवाट जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरे ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय पार्सद शेरबहादुर बुढा, महासंघ डोल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा, पुर्व अध्यक्ष विष्णुलाल बुढा र बबिकिशोर गुरुङले डोल्पाका पत्रकारहरुलाई पत्रकारिता पेशावाट जीवन गुर्जान मुश्किल भएको उल्लेख गर्दै कमसेकम सरकारी संचारगृहमा कार्यरत पत्रकारलाई मासिक पारिश्रमिकको ब्यवस्था गरेर डोल्पाको पत्रकारितालाई बचाई राख्न सरकारसंग माग गरे ।
महासंघ डोल्पाका अध्यक्ष सरोज थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा, पुर्व अध्यक्ष विष्णुलाल बुढा र बबिकिशोर गुरुङलाई कार्यक्रमका प्रमुख अतिथी तथा समन्वय प्रमुख श्याम बहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले अविर टिका लगाएर प्रमाण पत्रका साथ सम्मान गरेका थिए ।