अमेरिकी राजदुत नेपालगन्जमा
Saturday, December 17th, 2022, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ पुस
नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वातावरण लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सहयोग गरिरहेको थम्पसनले बताए ।
नेपालगन्ज आइपुगेका राजदुत थप्सनले रेडियो कृष्णसार एफएमको अवालेकन गर्दै उनले नेपालमा सूचना, प्रविधी र अंग्रेजी भाषाका विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताए । उनले भने, ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ । यहाँका सडक, जलविद्युत विभिन्न साना तथा मझौला उद्योगको विकास गर्न विशेष गरी काम गर्न जरुरी छ ।’
उनले नेपालमा संचालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको बताए । सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको उनले बताए ।
राजदुत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी गरेको जानकारी गराए । उनले भने, ‘नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ । विकसित देशको सुचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाकी छन । त्यसलाई पुरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ । नेपाल एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।’
नेपाल भ्रमणका क्रममा थम्पसनले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेको, अन्य पछि परेका समुदायको पनि पहुँच र सहभागितामा बृद्धि भएको पाइएको बताए ।
दुई महिना अघि मात्र नेपाल आएका राजदुत थम्पसनले नेपाली कला, संस्कृति, रितिरिवाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताए ।
पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले नेपालगन्जको कृष्णसार एफएमको अवलोकन गरेको थियो । टोलीमा अमेरिकी राजदुत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत प्ररेणा मरासीनी, आयुषा निरौला लगायत रहेका थिए ।
अवलोकन पश्चात कृष्णसार एफ एमका समाचार प्रमुख राकेश कुमार मिश्रले एफएमका विभिन्न पक्षका बारेमा टोलीलाई जानकारी गराएका थिए ।
क्याप्सन: भ्रमणका क्रममा नेपालगन्ज स्थित कृष्णसार एफएम पुगेको अमेरिकी राजदुत सहितको टिम । तस्विर:कृष्णसार एफएम