नेपालगन्ज–दिल्ली हवाई उडान सुरु गर्न सक्रिय हुँदैं बाँकेका व्यवसायी
Monday, December 26th, 2022, 7:19 pm
Kalpristha

……………
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० पुष
नेपालगन्ज–दिल्ली अन्तराष्ट्रिय क्षेत्रीय हवाई उडानको पहल गर्ने कार्यमा नेपालगन्जका व्यवसायी तथा राजनिति नेतृत्वहरुले सक्रियता देखाएका छन् । सोमबार नेपालगन्जमा भएको एउटा बैठकले नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा टिम बनाएको छ ।
जसले निरन्तर रुपमा नेपालगन्ज देखी भारतको नयाँ दिल्ली, चन्ढीगढ, बैंगलोर लगायतको सहरमा क्षेत्रीय हवाई सेवा सुरु गर्ने कार्यलाई अगाडी बढाउने छन । जसको सह–संयोजकमा नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल(नाटा) बाँके अध्यक्ष श्रीराम सिग्देल, सदस्य सचिवमा पर्यटन प्रवर्दन मन्चका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सदस्यहरुमा होटल व्यवसायीहरुको संगठन हान नेपालगन्ज अध्यक्ष असित शम्सेर राणा, पर्यटन विज्ञ डा. ओम प्रकाश मिश्रा, पत्रकार झलक गैरे र प्रमुख राजनिति दलका प्रतिनिधिहरु रहेका छन् ।
सोमबार बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित डा. धवल शम्सेर राणाको प्रमुख अतिथिमा उक्त समिति निर्माण गरिएको हो । वेस्टर्न ट्राभल मार्ट नेपाल नेपालगन्ज संचालक समितिले गरेको कार्यक्रममा नेपालगन्ज–दिल्ली हवाई उडानलाई छिटो गरी संचालन गर्ने बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा डा. धवल शम्सेर राणाले नेपालगन्ज–दिल्ली हवाई उडानको बारेमा नेपालका सबै पक्षहरु तयार रहेको बताउँदै दिल्लीबाट अनुमति लिएपछि सेवा सुरु हुन सक्ने बताए । सरकार बन्ने बित्तिकै कामले थप तिव्रता पाउँने बताउँदैं डा. राणाले भने,‘नेपालगन्ज–दिल्ली हवाई उडान हुन सके नेपालगन्जको मात्र नभएर सम्पुर्ण सुदुरपश्चिम क्षेत्रको कायापलट हुन सक्छ । यसमा सबै जना दत्तचित्त भएर लाग्ने सहमति बनेको छ । यो हाम्रो देश र क्षेत्रका लागि महत्वपुर्ण कुरा हो ।’
नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने बताए । उनले भने,‘नेपालगन्जको यो आवश्यकता हो । नेपालगन्ज औद्योगिक नगरी हो । यहाँबाट त्यो उडान सम्भव छ । यसमा सबैले आ–आफनो तर्फबाट सरोकारवाला निकायले सहयोग गर्न जरुरी छ ।’ नेपालगन्ज–दिल्ली अन्तराष्ट्रिय क्षेत्रीय हवाई उडानको सेवा सुरुआत गर्ने अभियानका संयोजक समेत रहेका विष्टले छिटै सर्वदलीय बैठक राखेर तयारीलाई थप अगाडी बढाउने बताए ।
नाटा बाँके अध्यक्ष श्रीराम सिग्देल, पर्यटन प्रवर्दन मन्चका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सदस्यहरुमा होटल व्यवसायीहरुको संगठन हान नेपालगन्ज अध्यक्ष असित शम्सेर राणा, पर्यटन विज्ञ डा. ओम प्रकाश मिश्राले नेपालगन्जसँगै पश्चिम नेपालको आर्थिक विकासमा नेपालगन्ज–दिल्ली उडानले महत्वपुर्ण योगदान दिन सक्ने भएकोले त्यसलाई जतिसक्दो छिटो सुरुआत गर्न आफुहरु सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी छलफलका क्रममा नाटा बाँकेले आयोजना गर्न लागेको वेस्टर्न ट्राभल मार्टको दोस्रो संस्करणलाई भव्य रुपमा सम्पन्न गर्नको लागि तयारी सुरु गर्ने निर्णय गरिएको छ ।