राष्ट्र बैंक अगाडी व्यवसायीले दिए धर्ना, बैंकको अव्यवहारिक नीति खारेज गर्न माग
Monday, December 26th, 2022, 7:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ पुष
राष्ट्र बैंकको ‘अब्यवहारिक नीति’का विरुद्ध नेपालगन्जका उद्योगी, व्यवसायीले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । आन्दोलन स्वरुप यहाँका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय नेपालगन्जमा धर्ना लगायतका कार्यक्रम गरेका हुन् । सोमबार राष्ट्र बैंक अगाडी एक घण्टा आन्दोलनका कार्यक्रम गर्दै राष्ट्र बैंकको कामकाजलाई प्रभावित गरिएको थियो ।
उद्योगी, व्यवसायीको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा सोमबार बिहान उद्योगी ब्यवसायीले धर्ना दिएका थिए । करिव एक घण्टासम्म राष्ट्र बैंक नेपालगन्जको कार्यालय अगाडी धर्ना दिएका उनीहरुले विभिन्न नाराबाजी समेत गरे । धर्नाका क्रममा केन्द्रिय सदस्य चक्र अधिकारी, संघका पदाधिकारी, पुर्वअध्यक्ष तथा पदाधिकारी लगायत नेपालगन्जका उद्योगी, व्यवसायीहरु ठुलो संख्यामा उपस्थित भएका थिए । व्यवसायीहरुको आन्दोलनलाई साथ दिनका लागि बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शम्सेर राणा, नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले समेत धर्ना दिएका थिए ।

………….
संघका महासचिव चिरञ्जीवी ओलीले पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभएपछि दोस्रो चरणको आन्दोलन गर्नु परेको बताए । ‘यो दोस्रो चरणको आन्दोलन हो, राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायीहरु आतंकित हुने परिस्थिती छ अहिले,’ ओलीले भने ‘ब्यवसायीले लिएको ऋण हरेक वर्ष एक पटक चुक्ता गर्नुपर्ने, ब्यवसायीको सामान गोदाममा छ, अब पैसा लिएर कसरी ऋण चुक्ता गर्न सकिन्छ ?’ कर्जा लिने कारोबारको २०-२५ प्रतिशत मात्रै ऋण पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको र त्यो अब्यवहारिक रहेको महासचिव ओलीले सुनाए । उनले थपे, ‘अकस्मात लागु गर्न खोज्दा ब्यवसायीहरु चल्न सक्ने अवस्था छैन ।’
कर्जा लिने कारोबारको २०–२५ प्रतिशत मात्रै ऋण पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको र त्यो अब्यवहारिक रहेको महासचिव ओलीले सुनाए । राष्ट्र बैंक कार्यालयमा धर्ना दिनु अघि संघको कार्यालय त्रिभुवन चोक पुर्वी लाइनबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा उद्योगी, ब्यवसायीले प्रर्दशन गरेका थिए ।
राष्ट्र बैंकले आफनो नीतिमा परिवर्तन नगरे निरन्तर रुपमा संघर्षका कार्यक्रमलाई निरन्तरता दिने नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य एवम् व्यवसायी विन्दु चर्तीमगरले बताईन् ।
उक्त प्रदर्शन सदरलाईन, न्युरोड, धम्बोझी चोक हुदै राष्ट्र बैंक नेपालगन्जको कार्यालय अगाडी पुगेर धर्नामा परिणत भएको थियो । प्रर्दशनका क्रममा कालो ब्यानर र प्लेकार्ड सहित उद्योग, व्यवसायीले चर्को नारा लगाएका थिए ।