गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद ‘नमुना’को पहल
Tuesday, December 27th, 2022, 5:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ पुष
राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थालेकी छिन् । दुबै पालिकाका सबै वडा तथा राजमार्गहरुमा समेत गुणस्तरीय टेलिफोन सेवाका लागि उनले पहल थालेका हुन् ।
सोही बिषयमा सोमबार नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेलसँग भेट गरेर सांसद नमुनाले छलफल समेत गरेकी छन् । महेन्द्र र हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीमा टेलिफोनको पहुँच नपुगेको स्थानमा पहुँच पु¥याउने विषयमा उनले छलफल गरेकी थिइन् ।
प्रवन्ध निर्देशक पौडेलसँग कोहलपुरको चपरगौडीदेखि दाङको सिमाना शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका टेलिफोनको पहुँच पुग्न नसकेका बस्तीहरुमा टावरहरु राख्ने सहमति भएको सांसद नमुनाले जानकारी दिईन् ।
सबै क्षेत्रमा टेलिफोनको पहुँच पु-याउनको लागि यसै साताबाट सर्वे समेत सुरु गर्ने प्रवन्ध निर्देशक सँग सहमती भएको जानकारी दिंदै उनले अहिले भएका टावरहरुमा समेत क्षमता विस्तारको कुरा भएको बताईन् ।
निर्वाचनमा मतदाताको घरदैलोमा पुग्दा मतदाताले फोन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासो आएपछी आफुले टावर थप गर्नको लागि पहल थालेको सांसद नमुनाले बताइन् ।
करिब चार वर्ष अगाडि दाङको शिवखोलादेखि कोहलपुरको चप्परगौडीसम्म सांसद नमुनाकै पहलमा भएको सर्वेले सात वटा नयाँ टावर थप गर्ने र ६ वटा टावरलाई स्तरउन्नती गर्नुपर्ने देखिएको थियो । केही स्थानमा टावर बनेपनि अधिकांश स्थानमा टावर बन्न नसकेको सांसद नमुनाले बताइन् ।
‘टावर निर्माणको लागि सर्वे भएर टेण्डर आह्वान भएपनि बाँके निकुञ्ज र वनका कारण काम अगाडि बढ्न सकेको थिएन’ उनले भनिन्, ‘अब जनतालाई सेवा दिने कामका लागि हुने विकास निर्माणमा निकुञ्ज र वनले अवरोध गर्नुहुँदैन ।’