कालपृष्ठका सम्पादक खत्री पुरस्कृत
Saturday, January 7th, 2023, 9:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २३ पुष
नेपाल पत्रकार महासंघ बाँके शाखाले १३औं साधारण सभाको अवसरमा बाँके जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेका पत्रकारहरुलाई सम्मान तथा विभिन्न पुरस्कार प्रदान गरेको छ ।
शनिबार नेपालगन्जमा भएको साधारण सभाको अवसरमा महासंघ बाँके शाखाले अग्रज पत्रकार लियाकत अली, पुर्णलाल चुके,गणेश जिसी, नरेन्द्रजंग पिटर र बासुदेव श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरेको छ ।
साधारण सभाको उद्घाटन सत्रको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋषी चौलागाई, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, महासंघ बाँकेका पुर्व अध्यक्ष हेमन्त कर्माचार्य लगायतले संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।
सभाको उद्घाटनमा कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार,महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीको नाममा स्थापना गरिएको लियाकत अली पत्रकारिता पुरस्कारबाट प्रेम केसी, सुर्यनाथ गौतम स्वास्थ्य(मुटु)पत्रकारिता पुरस्कारबाट कृष्ण खनाल, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट रेजिना मल्ल पुरस्कृत भईन ।
यसैगरी रामकली राम आधार पत्रकारिता पुरस्कारबाट यदुराज मिश्र र आलम खान, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नन्दलाल साहु, प्रेम विक पुरस्कृत भए ।
यसैगरी आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट स्वास्थ्य पेज डटकमका बिनोद गौतम, मिडिया हाउसबाट मिशन टुडे दैनिक, जि नेपाल एचडी टेलिभिजनलाई पुरस्कार प्रदान गरिएको छ । पत्रकार महासंघ बाँकेले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट विवेक रेग्मी र सुविता थारुलाई पुरस्कृत गरियो । नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष एवम् बाँके शाखाका पुर्व अध्यक्ष हेमन्त कर्माचार्यको संयोजकत्वमा गठित छनोट समितिले विभिन्न विधामा पुरस्कारका लागि छनोट गरेको थियो ।
कोभिड–१९ को महामारीका बेला महासंघको स्वास्थ्य सल्लाहकार भएर सहयोग गर्ने फिजिसियन डा. शुभाष योगीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अवसरमा पुरस्कार स्थापनामा सहयोग गर्ने दाताहरुलाई पनि महासंघ बाँकेले सम्मान गरेको छ । सुर्यनाथ गौतम मुटु स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापनामा सहयोग गर्ने सुशिला गौतम, रामआधार राम प्यारी पत्रकारिता पुरस्कार स्थापना गर्ने माधवराम बर्मा, बेलमती शर्मा पत्रकारिता पुरस्कार स्थापना गर्ने जीवन शर्मा, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने डा. कौशल बर्मा, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने गोपाल बैरागी, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताललाई महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले पुरस्कृत गरेका थिए ।