मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त
Thursday, January 19th, 2023, 7:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ माघ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत लिए ।
प्रदेशसभामा कायम रहेका कुल ८७ प्रदेशसभा सदस्यमा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे । विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा २८ मत परेको थियो ।
मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उनले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७ जना सभा सदस्यले पक्षमा मतदान गरेका थिए ।
सरकार गठनमा विपक्षीमा रहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गरेका थिए । मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो ।
प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशमा राजधानी कार्यान्वयन र यस क्षेत्रको विकासका लागि आफु सधै तत्पर रहेकाले विश्वासको मत दिन आग्रह गरेका थिए ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदिय दलका नेता डिल्ली वहादुर चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि भविष्यमा सरकारले गर्ने कामको आधारमा समर्थन विरोध रहने बताए ।