अब नेपालगन्जको सात स्थानमा ‘फ्री वाईफाई जोन’
Tuesday, January 31st, 2023, 9:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ माघ
नेपालगन्ज उप-महानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गरेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा उप-महानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ बनाइएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए । नगरलाई सूचना प्रविधिमैत्री बनाउँदै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई लक्षित गरी वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए ।
‘अहिलेलाई हामीले मानिसहरुको बढी चहलपहल हुने सात स्थानमा फ्री वाईफाई को सुविधा दिएका छौं, लगत्तै अन्य चार स्थानलाई पनि ‘फ्री वाईफाई जोन’ बनाउँछौं, अहिले परीक्षणका रुपमा अघि बढेका छौं, यसको प्रयोग गर्दा आउने प्राविधिक समस्या हेरेर थप ठाउँमा विस्तार गर्नेछौं ।’- मेयर विष्टले भने । ‘नगरलाई सूचना प्रविधिमैत्री बनाउने अभियानमा छौं, हाम्रा २३ वटै वडामा इन्टरनेट पहुँच पुगेको छ, अनलाइन प्रणाली सुरु गरेका छौं ।’
उनले यो संगै सूचना प्रविधिका क्षेत्रमा नेपालगन्ज उप-महानगरपालिकाले अर्को एउटा फड्को मारेको बताए । तत्काल नगरका प्रमुख ११ स्थान ‘फ्री वाईफाई जोन’ बनेपछि विस्तारै २३ वटै वडाभर निःशुल्क इन्टरेनट सुविधा पुग्ने गरी काम गर्ने विष्टको भनाई छ ।
अब लगत्तै त्रिभुवन चोक, राँझा चोक, गणेशमान चोक र ट्राफिक चोकमा निःशुल्क वाईफाई सेवा विस्तार गरिने सूचना प्रविधि शाखा प्रमुख बर्माले बताए । एक जना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने बर्माले जानकारी दिए । हरेक चोकको ३०० मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने गरी सुविधा दिइएको छ । एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको बताइएको छ । वल्र्ड लिंकका नेपालगन्ज प्रमुख नवराज शर्माले अप्ठोरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरुमा सुरुवात गरिएको बताउँदै यसको दुरुपयोग वा अनाधिकृत प्रयोग रोक्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको जानकारी दिए ।
सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने शर्माले बताउनुभयो । त्यसपछि आउने नोटिफिकेशनका आधारमा सुविधा पाइनेछ । ‘फ्री वाईफाई जोन’ सुभारम्भ कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दिपककुमार बर्मा, कार्यपालिका सदस्य बसन्तकुमार कनौजिया लगायत उपस्थिति रहेको थियो ।