हाकिम निलम्बनमा परेपछि राप्तीसोनारीको सेवा प्रभावित
Thursday, February 2nd, 2023, 6:08 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ माघ
बाँकेको राप्तिसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्री निलम्बन हुँदा गाउँपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ ।
भ्रष्टाचार आरोपित प्रमुख प्रशासकिय अधिकृत खत्री निलम्बनमा परेसंगै गाउँपालिकाको सेवा प्रवाह प्रभावित बनेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीविरुद्ध गैरकानुनी लाभ तथा हानी पु-याइ भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सो आरोपपत्र दायर गरेको हो ।
प्रमुख प्रशासकिय अधिकृत खत्री निलम्बनमा परेपनि गाउँपालिकाको सेवा प्रवाह भने नरोकिएको पालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । पालिकाले हाललाई गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरि आर्थिक अधिकारबाहेक प्रशासनिक र अन्य अधिकारसहित आर्थिक प्रशासन शाखा प्रमुख तथा लेखा अधिकृत गौरव कुमार लामिछानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएको छ ।
‘खत्री जीले सल्यानको कालिमाटी गाउँपालिकामा रहँदा भ्रष्टाचार गरेको आरोप छ । उहाँ निलम्बनमा परेपछि पालिकाको सेवा प्रवाह नरोकियोस भनेर आर्थिक अधिकार बाहेक सबै प्रशासनिक अधिकार हामीले लेखा शाखा प्रमुखलाई दिएका छौं । उहाँले योजनाहरुको सम्झौता, अनुगमन र निरिक्षण लगायतका काम गर्नुभएको छ । तर, आर्थिक अधिकारसहितको काम गर्नका लागि भने सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउनुपर्दछ ।’– उनले भने ।
निलम्बनमा परेका खत्री बाँकेको राप्तिसोनारी गाउँपालिकामा आउनु अघि सल्यानको कालिमाटी गाउँपालिकामा कार्यरत थिए ।
खत्री सहित सल्यान गाउपालिकाका उपाध्यक्ष र वडाध्यक्ष लगायत ७ जनामाथि आर्थिक वर्ष २०७७÷०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कालीमाटी–७ स्थित घुइँयावारी (रिङरोड योजना) मुल सडक विस्तार नाला सुधार तथा ग्रावेल योजनामा अनियमितता गरेको आरोप लागेको छ ।