स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
Thursday, February 2nd, 2023, 8:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि नेपालगन्जमा बिहीवार स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा निर्देशक भरत बहादुर कुँवरले मिडियाकर्मी मार्फत उपलब्ध स्वास्थ्य सेवाबारे आम नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषणका लागि स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको बताए ।
उनले शारीरिक, मानसिक, भावानात्मक तथा सामाजिकरुपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने बताउदै अहिले सम्म उपचरात्मक सेवालाई जोड दिदै आइएको भएपनि अब भने स्वास्थ्य प्रबर्द्धन सेवालाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले अस्वस्थ जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगको भागिदार भैरहेको बताए । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले नसर्ने रोगको अवस्था अहिले विकराल बन्दै गएको उल्लेख गरे ।
उनले मुटु, प्रेसर जस्ता नसर्ने रोग अहिले घातक बनेको भन्दै त्यसबारेमा पैरवी तथा उपचारलाई प्राथमिकता दिइएको बताए । छिमेकी जिल्ला बर्दियामा नसर्ने रोगको उपचारका लागि पेन–प्लस कार्यक्रमनै सुरु भैसकेकोले बाँकेमा पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा.शंकर केसी, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत लगायतले स्वास्थ्य सेवा प्रबर्द्धनमा जोड दिदै नीतिगतरुपमा हेल्थ प्रोफाइल आवश्यक रहेको बताएका थिए । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक राजन शाहीले सहजीकरण गरेका थिए ।