नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ
Thursday, February 2nd, 2023, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १९ माघ
नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन । चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए ।
अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जिते । यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए । ती दुबै चुनाव उनले हारेका थिए ।
९ वर्षसम्म फरार रहेको र पटक–पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन । सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहर भएकाहरू हुन् ।
अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो । अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो ।
आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो । लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए । त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएका थिए ।
उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो । जो २०७४ मेयर भएका थिए । उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो । उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए । अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो । यसरी आदेश भएर पनि लामो समयसम्म फरार सूचीमा रहेका सांसद चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेको थिएन ।