लुम्बिनी प्रदेश सरकारले कहिले पाउँला पूर्णता ?
Thursday, February 2nd, 2023, 8:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १९ माघ
मुख्यमन्त्रीले सपथ लिएको तीन सातासम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउनसकेको छैन । प्रदेश सरकारले प्रधानमन्त्रीको निर्देशन वमोजिम मन्त्रालयको संख्या नाम सहित सार्वजनिक गरे पनि मन्त्रीहरूको नाम भने टुङ्गो लगाउनसकेको छैन । सत्ता साझेदार दलहरूबीच भागबण्डा नमिल्दा सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ ।
मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएको करिब महिना दिन पुग्दासमेत सरकार विस्तार हुनसकेको छैन । नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन् । एमाले संसदीय दलका नेता गिरी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पुस २८ गते दुई मन्त्रीसहित सपथ लिएपछि अन्य मन्त्री नियुक्त हुनसकेका छैनन् ।
सरकारका प्रवक्ता एवम् बिनाविभागीय मन्त्री चेतनारायण आचार्यले यो साताभित्र मन्त्रिमण्डल विस्तार हुने दाबी गरे । माओवादी संसदीय दलका नेता मातृशोकमा परेका कारण मन्त्रालयमा विस्तार रोकिएको बताइएको छ । लुम्बिनीमा सरकारलाई ८ दलले विश्वासको मत दिएका छन् । ती बाहेक दुई स्वतन्त्र सांसदको समेत समर्थन रहेकाले भागबण्डा मिलाउन कठिन भइरहेको छ ।
लुम्बिनीमा एकीकृत समाजवादीले पनि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । माओवादी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, जसपा, लोसपा सत्तामा साझेदार छन् । जनमतले एउटा मन्त्रालय पाउने निश्चित भएको छ । अन्य दलसँगको छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताए ।
यद्यपि, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय दिन मुख्यमन्त्री गिरी तयार छैनन् । जनमले शिक्षा मन्त्रालय पाउने अपेक्षा गरेको छ । जनमतबाट गुप्ता नै मन्त्री हुनेछन् । उनी रूपन्देही क्षेत्र नं. ५ को २ नं. क्षेत्रबाट निर्वाचित भएका हुन् । लुम्बिनीमा लोसपा पनि सरकारमा जाने तयारीमा छ । मुख्यमन्त्री गिरीले मन्त्रालय र संसदीय समितिमा समर्थक दलहरूलाई भाग मिलाउने कसरत गरिरहेका छन् । प्रदेशमा ६ वटा संसदीय समिति छन् ।