आइपिओ जारी गर्दै पिएलओ
Thursday, February 2nd, 2023, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैंचामा मुख्य कार्यालय रहेको पिएलओले आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने गरी सम्झौता गरेको छ ।
उसले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।
शेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका हुन् ।
पीएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरिद गरेको छ । बुधबार नै अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध निर्देशक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक दुलालबीच शेयर खरिद बिक्री सम्झौतामा समेत गरेका छन् ।
प्रालिका रूपमा रहेको पीएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा शेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए । आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ ।
शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर स्थानीयलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशक दुलालले बताए ।