जानकीमा पालिका स्तरीय अध्यक्ष कप शुरु
Thursday, February 2nd, 2023, 9:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा ५ औं पालिका स्तरीय अध्यक्ष कप आजदेखि बाँकेको जानकी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानपुरको खेल मैदानमा शुरु भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा र जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोगमा बिहिवारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू भएको हो ।
जानकी गाउँपालिका बाँकेका प्रमुख छब्बन खाँको अध्यक्षता तथा नेपाली काँग्रेसका सह–महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरको प्रमुख आथित्यतामा आयोजि एक औपचारिक समारोहका विच सो प्रतियोगिताको सुरुवात भएको हो । प्रतियोगिताको उदटन गर्दै प्रतिनिधि सभाका सांसद माननीय किशोर सिंह राठौरले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व रहेको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य बादसाह कुर्मीले प्रतियोगितामा विद्यार्थी किताबको ज्ञानमा मात्र सिमित नभएर खेलकुद क्षेत्रमा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिए । साथै राष्ट्रका लागि खेलकुद, स्वास्थ्य र खेलकुद क्षेत्रमा अगाडि बढ्न आग्रह गर्दै विद्यार्थी र शिक्षकलाई शुभकामना समेत दिए ।
गाउँपालिका प्रमुख खाँले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताउदै विद्यार्थीले शैक्षिक स्तरमा मात्र नभई खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी भइ आफूमा भएको क्षमतालाई प्रदर्शन गर्न आवश्यक रहेको बताए ।
माघ १९ गतेदेखि २१ गतेसम्म चल्ले प्रतियोगितामा पालिका भित्रका ३ ओटा निजि विद्यालय, ११ ओटा मदरसा र २४ ओटा सामुदायिक विद्यालय गरि जम्मा ३८ वटा विद्यालयबाट तीन सय ६९ जना विद्यार्थीहरूको सहभागिता रहने शिक्षा युवा तथा खेलकुद शाखाका सहायक प्राविधिक झुमी ओलीले जानकारी दिईन् ।