राजनीतिक अस्थिरता मुलुकको प्रमुख समस्या हो : मुख्यमन्त्री गिरी
Thursday, February 2nd, 2023, 11:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताएका छन् । बिहीबार नेपाल टेलिभिजन कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले ३० वर्षमा २८ सरकार फेरिएको सन्दर्भ उल्लेख गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा दलहरुबीच मिलेर, सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी स्थानान्तरण भई अस्थायी व्यवस्थापन र स्थायी संरचना निर्माणको काम अघि बढाइएको बताए ।
राजधानीको व्यवस्थापनका कारण मन्त्री परिषद्ले पूर्णता पाउन समय लागेको मुख्यमन्त्री गिरीको भनाइ छ । आगामी ५ वर्षमा जनताले अपेक्षा गरेजस्तै जनताको साथमा सरकार छ भन्ने अनुभूति गराउने गरी काम भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, प्रदेश सांसदहरू रत्न खत्री, दुर्गा चौधरी, बसन्ती अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थानीय कला संस्कृतिको जगेर्नामा नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष फुलमान वलले नेपाल टेलिभिजनले राज्यको प्राथमिकता र आवश्यकता परिपूर्तिमा सहयोग गरेको बताए । छिट्टै खस, डोटेली र थारु भाषामा समाचार प्रसारण गर्न लागिएको र मगर तथा अवध भाषामा समाचार प्रसारणका लागि तयारी अघि बढाइएको जानकारी दिए ।