नेपालगन्ज रंगशालामा हुँदैं हिमालयन साईन्स फेस्टिवल
Friday, February 3rd, 2023, 7:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० माघ
हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण नेपालगन्ज रंगशालामा हुने भएको छ । हिमालयन साईन्स फाउण्डेशनले आयोजना गर्ने फेस्टिवल फागुन २ र ३ गते नेपालगन्ज रंगशाल परिसरमा हुने भएको हो । नेपालगन्ज रंगशाला परिसर फेस्टिवल आयोजनाका लागि उपयुक्त स्थान भएकोले रंगशाला परिसरलाई रोजेको बताउँछन आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेत ।
उनले भने,‘पहिलो संस्करण हामीले सिद्धार्थ कटेजको परिसरमा गरेका थियौं । यस पटक नेपालगन्ज रंगशाला परिसरमा गर्ने निर्णय गरेका छौं । रंगशाला परिसरको वातावरण शान्त र पार्किङका लागि पनि सहज छ । यसले गर्दा पनि रंगशालामा गर्ने हामीले तयारी गरेका हौं ।’
नेपालमा विज्ञान र प्रविधिको विकासलाई प्राथमिकतामा राख्नको लागि फाउण्डेशनले विभिन्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै आएको छ । नेपालगन्जमा हुन लागेको फेस्टिवलले विद्याथीहरुलाई विद्यालय स्तरबाटै खोज र अनुसन्धानमा अभिरुची जगाउने अध्यक्ष बस्नेतले बताए ।
यसैगरी फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशीले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नेछन् ।
आइटी विज्ञ समेत रहेका इन्जिनियर गौतम अमेरिकन कम्पनी एप्पलमा काम गरेर नेपाल फर्किएका युवा हुन । उनले पछिल्लो समय नेपालमा काम गरिरहेका छन् । नेपालको विज्ञान र प्रविधिको क्षेत्रको विकासमा काम गरिरहेको संस्था नास्टको सिनियर साइनटिस्ट टिस्टाले नेपालगन्जमा हुन लागेको फेस्टिवलमा निर्णायकको रुपमा काम गर्ने आयोजकले बताएको छ ।
निर्णायक मण्डलका लागि छनोट गरिएका दुई व्यक्ति नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा उच्च स्तरीय योगदान र सफलता हासिल गरेको व्यक्ति भएको फेस्टिवल आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक वस्नेतले बताए ।
फेस्टिभललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ । फेस्टिवलमा करिब ५० वटा स्टल राखिने छ । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ । फेस्टिभलमा सहभागि हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् ।