हुइयालाई चिनाउने त्यो ‘ड्रिब्लिङ’
Friday, February 3rd, 2023, 7:42 pm
Kalpristha
सैनिक बस्तीमा जन्मिएका थापाका आफन्त साथी भाइ सबै सेनामा जागिरे भएपनि उनी भने दिन रात फुटबलमै मन बनाउन थाले । लाग्थ्यो, उनको भावनामा फुटबलले राज गरेको छ । फुटबलप्रतिको गहिरो लगाव भएका कारण पनि उनी फुटबलबाट कहिल्यै टाढा हुन सकेनन् । फुटबललाई आफुलाई जस्तै माया गर्थे ।
जी. थापा
नेपालगन्ज, २० माघ
जुझारु फुटबलर स्व. श्याम थापाको संस्मरण गर्दा उनको खेल जीवनको पाटोलाई निहाल्नु अपरिहार्य हुन्छ । सानो उमेरदेखि फुटबल खेल्न थालेका उनले फुटबललाई नै कर्म ठाने । सैनिक बस्तीमा जन्मिएका थापाका आफन्त साथी भाइ सबै सेनामा जागिरे भएपनि उनी भने दिन रात फुटबलमै मन बनाउन थाले । लाग्थ्यो, उनको भावनामा फुटबलले राज गरेको छ । फुटबलप्रतिको गहिरो लगाव भएका कारण पनि उनी फुटबलबाट कहिल्यै टाढा हुन सकेनन् । फुटबललाई आफुलाई जस्तै माया गर्थे । उनले फुटबललाई नै सर्वप्रियता मानेर अगाडि बढे, जसले गर्दा उनले फुटबलमा सफलता पाए ।
जय किसान स्पोट्र्स क्लबका तत्कालीन स्टार खेलाडी श्याम थापाको कद र खेल्ने शैली म्यारोडोनासँग मिल्थ्यो । मध्य भागमा बल पाएपछि कौशल्ताका साथ ड्रिब्लिङ गर्दै गोल गर्नु उनको विशेषता नै थियो । त्यसैले उनका प्रशंसक उनलाई खजुराको म्यारोडोना पनि भन्ने गर्थे । त्यसो त सानादेखि ठूलासम्म सबै जना उनलाई हुइया भनेर पुकार्ने गर्थे । पछि गएर उनी बाँके जिल्लाको फुटबल वृतमा त्यही हुइया उपनामले स्थापित हुन पुगे ।
उनले आफनो फुटबल करियरमा साना ठूला सबै खाले फुटबल प्रतियोगिता खेले । बाँके जिल्लाको प्रतिनिधित्व गरेर उनले क्षेत्रीय तथा राष्ट्रिय स्तरका सबै खाले फुटबल प्रतियोगितामा आफनो प्रतिभा देखाउन अवसर पाए ।
अखिल नेपाल फुटबल संघका निवर्तमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर श्याम थापा हुईलालाई पश्चिम नेपालको एउटा स्टार खेलाडीको रुपमा सम्झन्छन । उनले आफनो खेल कौशलले बाँके, तत्कालिन भेरी अञ्चल र जय किसान स्पोर्टस क्लबलाई देशभरी चिनाएको बताए । २०५७ सालतिर नेपालको राष्ट्रिय स्तरका क्लबले खेल्ने प्रतियोगिता थियो कोकाकोला कप । त्यसमा श्याम थापाको नेतृत्वमा नेपालगन्ज–११ ले दोस्रो चरण सम्मको यात्रा तय गरेको थियो । यसैगरी पोखरामा देशभरका राष्ट्रिय क्लबले छनोट भएर खेल्ने क्लब छनोट प्रतियोगितामा पनि थापाको नेतृत्वमा जय किसान स्पोर्टस क्लबले खेलेको थियो ।
यस्ता थुप्रै प्रतियोगितामा श्याम थापाले आफनो क्षमतालाई देखाएका थिए । नेपाली फुटबलमा एउटा प्रतिभाशाली फुटबलरको सम्झनामा प्रतियोगिता गर्नु निकै महत्वपुर्ण कार्य भएको बताउँछन अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही । उनले भने, ‘बाँकेको फुटबलमा श्याम दाई एउटा अविष्मणीय खेलाडी हुन । उहाँको खेल्ने शैली र अदभुत क्षमतालाई हामी अझै पनि सम्झन्छौं । उहाँको सम्मान र सम्झनाका लागि प्रतियोगिता गर्नु निकै राम्रो काम हो । यसका लागि आयोजक जय किसान स्पोर्टस क्लब टिमलाई धन्यवाद दिन चाहन्छु ।’
गत वर्ष आयोजना गरिएको प्रथम स्व. श्याम थापा फुटबल प्रतियोगितालाई क्लबले निरन्तरता दिएको छ । गत वर्षको तुलनामा प्रतियोगिताको स्तर उन्नति गर्दै यस पटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ ।
प्रतियोगितालाई सभ्य र भव्य रुपमा संचालन गर्न मुख्य प्रायोजक बाँके बर्दिया मैत्री समाज जापान, खजुरा गाउँपालिका, स्थानीय निकाय लगायत १ दर्जन बढी उद्योगी व्यवसायी तथा संघ संस्थाहरुले हातेमालो गरेकोमा गर्व गर्नेपर्ने हुन्छ ।