बागेश्वरी मन्दिरमा ‘महाआरती’
Monday, February 6th, 2023, 9:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ माघ
नेपालगन्जको प्रशिद्व बागेश्वरी मन्दिरमा दोस्रो पटक ‘महाआरती’ गरिएको छ । ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सोमबार महाआरती गरिएको हो । नाट्टा बाँके च्याप्टरले बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उप–महानगरपालिकासँगको सहकार्यमा अपरान्ह ५ बजेपछि दोस्रो पटक महाआरती गरेको छ ।
सो अवसरमा नेपालगन्ज नगरका जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, पर्यटन व्यावसायी र यहाँका भक्तजनहरुको उल्येख्य उपस्थिती रहेको थियो । महाआरतीमा नगरवासी स्वस्फूर्त रुपमा सहभागी भएका थिए । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सकेसम्म अब हरेक सोमबार महाआरती गर्ने तयारी थालेको बताए ।
‘सकेसम्म अब हरेक सोमबार महाआरती गर्न सके हुन्थ्यो भन्ने हो । त्यसैका निमित्त हामीले बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उप–महानगरपालिकासँग समन्वय गरिरहेका छौं । सकेसम्म छिट्टै नै हरेक सोमबार महाआरती गर्ने छौं ।’–उनले भने ।
पण्डित वा बटुकद्वारा बैद्धिक मन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधि अनुसार महाआरती गरिने बागेश्वरी मन्दीरका मुल महन्त चन्दननाथ योगी बताउछन् ।
महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन किर्तन पनि गर्ने उनले जानकारी दिए । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । वेष्टर्न ट्राभल मार्टको अवसरमा यसअघि माघ १५ गते पनि महाआरती गरिएको थियो ।