साईक्लिङ मार्फत पर्यटन प्रवद्र्धन गर्दै ‘टुर दि ठाकुरद्वार’
Tuesday, February 7th, 2023, 11:19 am
Kalpristha
पर्यटन व्यवसायलाई साईक्लिङ मार्फत प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जबाट ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करणको तयारी तिव्र गतिमा भैरहेको छ । नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तिन सय जना साइकल यात्री बाँके र बर्दियाका पर्यटकीय गन्तब्य हुँदै बर्दिया राट्रिय निकुन्ज क्षेत्रमा अवस्थित ठाकुरद्वारा पुग्ने छन् । ‘टुर दि ठाकुरद्वार’ साइकल यात्राको तयारी र आयोजना गर्नुको उद्देश्य लगायतका बारेमा कार्यक्रम संयोजक प्रदिप सापकोटासँग कालपृष्ठ कर्मी लक्ष्मी तिमिल्सनाले गरेको कालपृष्ठ संवाद ।
‘टुर दि ठाकुरद्वार’ आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने मुख्य उद्देश्य लिएर २०७५ सालबाट टुर दि ठाकुरद्वाराको सुरुवात गरिएको थियो । हामीले यो कार्यक्रम विगत ५ वर्षदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएका छौं । पर्यावरणको हिसाबले एकदम राम्रो भए पनि बाँके र बर्दियामा भएका सुन्दरताहरु प्रचार–प्रसारको कमीले पछाडि परेका छन् । तसर्थ यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा यो कार्यक्रम हुन लागेको छ । यसका साथै साइकल यात्रीहरूलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्यले पनि हामीले यसको आयोजना गरेका हौं । यसका साथै साइक्लिङ स्वास्थ्य र वातावरणका लागि निक्कै महत्वपूर्ण मानिन्छ । यसले शारीरिक तन्दुरुस्ती र वातावरणलाई स्वच्छ बनाउन सघाउँछ ।
तयारी कहाँसम्म पुग्यो ?
यहि माघ २६, २७ र २८ गते हामी नेपालगन्ज साईकल फेष्टिबल अन्र्तरगत साइकल महोत्सव मनाउदै छौं । जस अन्र्तरगत हामीले ‘टुर दि ठाकुरद्वार’ र ‘नेपालगन्ज किड्स रेस’को पनि आयोजना गरेका छौं । ‘टुर दि ठाकुरद्वार’मा अन्तरदेशिय साईकल यात्री र अन्तराष्ट्रिय साईकल यात्रीसंगै स्थानिय साईकल यात्री पनि सहभागि हुनेछन् भने, ‘नेपालगन्ज किड्स रेस’मा नेपालगन्ज उप–महानगरपालिका भित्रका १० बर्ष मुनिका बालबालिकाहरु सहभागी हुनेछन् । यसका लागि आवश्यक सवै तयारी लगभग सकिएको छ । हाम्रो तयारी ९० प्रतिशत सम्पन्न भईसकेको छ ।
कार्यक्रममा क–कसले सहभागिता जनाउँदैछन, कार्यक्रमका अन्य आर्कषणहरु के–के छन् ?
टुर दि ठाकुरद्वारा साइकल यात्रामा भारतको बरेली, ओडिसा, लखनउ, मुम्बई, चन्डिगढ, लुधियाना, पन्जाब, नैनिताल, दिल्ली र कस्मिर लगायतका शहरबाट आएका अन्तराष्ट्रिय साईकलयात्री र राष्ट्रिय साईकलयात्रीहरुलाई हामी ‘सिटी सफारी गराउने छौं । त्यसपछि हाम्रो ‘टुर दि ठाकुरद्वार’ साइकल यात्रा शुरु हुने छ । यसमा तिन सयजना साईकलयात्रीहरु सहभागि हुनेछन् । बागेश्वरी मन्दिरबाट सुरु हुने हाम्रो यात्रा त्रिभुवन चौक, गणेशमान चौक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर अनि सतखलुवा तालहँुदै ठाकुरद्वारा पुग्ने छौं । पाहुनाहरुलाई २६ गते सिटीसवारी पश्चात त्यहाँ बाट पठाउने हाम्रो योजना छ । २७ गते र २८ गते भने बर्दिया राष्ट्रिय निकुञ्ज को जङ्गल सफारी, हात्ती सफारी अनि नेपाल कै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउने छौं । साथै कर्णाली चिसापानी सम्म पनि पु¥याउने हाम्रो योजना छ ।
पाँचौ संस्करणसम्म आईपुग्दा स्थानिय सरकार र व्यवसायिक प्रतिष्ठानहरुको सहयोग कस्तो छ ?
हामीलाई सबैले भरपुर सहयोग गर्नुभएका कारणले नै पाँचौ संस्करणमा आईपुगेका हौं । बाँके र बर्दियाका वातावरण पे्रमीहरु संगसंगै यहाँका स्थानीय तहहरुले पनि हामीलाई सहयोग र समन्वय गर्नुभएको छ । यसका साथसाथै हामीलाई थुप्रै व्यवसायिक प्रतिष्ठानहरुको सहयोग मिल्दै आएको छ ।
नेपालगन्जमा साईक्लिङ संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?
हाम्रो ठाउँमा साइकल यात्रा अली असुरक्षीत भएको हुदा यसलाई सुरक्षीत बनाउनु पर्छ । सहरमा साईकल लेनको बिस्तार हुनपर्छ । साइकिल पार्किङको लागि पनि ब्यबस्था हुनुपर्छ । यसको लागि स्थानिय सरकारले सहयोग गर्नुपर्छ । संगसंगै साइकल यात्रिहरुलाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्छ । यसैका लागी पनि हामिले यो अभियान र आन्दोलन चलाएका छौं । हामीले क्रिटीकल मासको आयोजना गरेर यसको बारेमा भनेका छौ । सबैले बढि प्रयोग गर्ने भनेकै साइकल हो । कतिले स्वस्थ्यकर ब्यायमको लागि त कतिले जिविकोपार्जनको लागि साइकलको प्रयोग गर्छन त्यसैले सबै खाले साइकल यात्रीलाई लक्षित गरेर यो अभियान चलाउन जरुरी छ । र साईक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो ।