‘टुर दि ठाकुरद्वार’ यात्रा सुरक्षित र भव्य हुने छ : गुप्ता
Tuesday, February 7th, 2023, 9:24 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २४ माघ
साईक्लिङ मार्फत पर्यटन प्रवद्र्धन गर्दै नेपालगन्जलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन र बाँके बर्दियाको पर्यटकीय सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको ‘टुर दि ठाकुरद्वार’ कार्यक्रमको उचित स्वास्थ्य र सुरक्षा व्यवस्था गरिएको छ ।
नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गरेको ‘टुर दि ठाकुरद्वार’ कार्यक्रमको उचित स्वास्थ्य र सुरक्षा व्यवस्था गरिएको क्लवका कोषध्यक्ष राजेश गुप्ताले जानकारी दिएका छन् ।
आयोजकले साईकलिस्टहरुको पाँच लाख बराबरको दुर्घटना विमा गरिएको क्लवका कोषध्यक्ष गुप्ताले जानकारी दिएका छन् । ‘दुर्घटना विमाका साथै वेस्टर्न हस्पिटल र भेरि अस्पतालबाट मेडिकल स्टाफ सहितका २ वटा एम्बुलेन्स समेतको व्यवस्था गरेका छौं । थुप्रै स्वास्थ्यकर्मीहरु नेपालगन्ज साईक्लिङ क्लबका सदस्य हुनुहन्छ । वहाँहरुपनि हामीसंगै हुने हुनाले सबै गरिकन आधा दर्जन बढी स्वास्थ्यकर्मी सो यात्रामा रहनुहुनेछ ।’– गुप्ताले भने ।
गुप्ताका अनुसार सो कार्यक्रममा सुरक्षा व्यवस्थाको पनि राम्रो प्रबन्ध गरिएको छ । उनका अनुसार नेपालगन्ज साईक्लिङ क्लबका २० जनाले वरीपरिबाट स्कटीङ गर्नेछन् भने रक्षक सेक्युरिटीका ८ जना रक्षकहरुले अघिपछिबाट सुरक्षा दिनेछन् ।
‘हामीलाई जिल्ला प्रहरीले पनि हाम्रो सुरक्षार्थ प्रहरी खटाउनुहुनेछ । जसकालागि हामीले समन्वय गरिसकेका छौ । यसैगरि हामीसंग रम्भापुर व्यारेकबाट पनि सेना स्कटिङका लागि आउने छन् । यसरी साईक्लिस्टहरुको सुरक्षाका लागि ४ वटा घेराले काम गर्ने छ । हामी हाम्रो यात्रा सुरक्षित र भव्य हुनेमा हामी विश्वस्त छौं ।’– गुप्ताले भने ।
पर्यटन व्यवसायलाई साईक्लिङ मार्फत प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जबाट ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करणको तयारी तिव्र गतिमा भैरहेको छ । नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तिन सय जना साइकल यात्री बाँके र बर्दियाका पर्यटकीय गन्तब्य हुँदै बर्दिया राट्रिय निकुन्ज क्षेत्रमा अवस्थित ठाकुरद्वारा पुग्ने छन् ।
क्लवका सल्लाहकार लवराज श्रेष्ठले ‘टुर दि ठाकुरद्वार’ साइकल यात्रालाई सफल पार्न सबैमा अनुरोध गरेका छन् । नेपालगन्जलाई बाँके र बर्दियासम्म मात्र सिमित नराखेर देशविदेशमै चिनाउनका लागि यो आयोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताउदै उनले यो कार्यक्रम सफल पार्न सबैको हातेमालो जरुरी रहेको बताए ।