आयोजक जय किसान स्पोर्टस फाइनलमा प्रवेश
Thursday, February 9th, 2023, 7:13 pm
Kalpristha
दोस्रो स्व. श्यामथापा स्मृति फुटबल
जी. थापा
नेपालगन्ज, २६ माघ
कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा कृष्णले खेलको ५९औं मिनेट, ६९औं मिनेट र ८०औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनलमा पुग्न योगदान गरेका छन् । यसअघि कृष्णले ह्याट्रिक गरेपछि बुधबार भएको क्वाटरफाइनलमा जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४–० ले सहजै पराजित गरेको थियो ।
अब माघको २९ गते हुने प्रतियोगिताको फाइनलमा जय किसान स्पोर्टस क्लबले सहारा क्लब इन्डिया र बागमती स्पोर्टस क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सहारा र बागमती बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।