नेपालगन्ज आयुर्वेद अस्पतालमा विदेशी टोली, आयुर्वेदको विकासबारे छलफल
Thursday, February 9th, 2023, 10:23 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २६ माघ
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल टिमले नेपालमा आयुर्वेद शिक्षाको प्रचार–प्रसार, आयुर्वेद उपचार पद्धति, यसमा प्रयोग हुने यन्त्र, उपकरण लगायतका विषयमा विदेशबाट आएका विज्ञ टोलीसँग छलफल गरेको छ । विज्ञ टोलीसँग आयुर्वेदको विकासका बारेमा नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको टोलीले कुराकानी गरेको थियो ।
आयुर्वेदका विज्ञ टोलीले नेपालगन्जमा रहेको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको अवलोकन गरेको थियो ।
युके लन्डनबाट आएका डा. मुनिर डाटु, दक्षिण अफ्रिकका डा. नादिर जाफिर, भारतबाट आएका डा. नेपालका हाजी अब्दुल हामिद सिद्धिकी लगायतले नेपालगन्ज आयुर्वेद अस्पतालको अवलोकन गरेको थियो । आयुर्वेदको विज्ञ टोलीलाई भ्रखरैं खुलेको आयुर्वेद अस्पतालको सेवा सुविधा र अस्पतालले गरिरहेका कार्यहरुको बारेमा जानकारी गराएको नेपालगन्ज आयुर्वेद अस्पतालको लेखा तथा प्रशासन प्रमुख प्रिन्सी मिश्रले बताईन ।
विदेशबाट आएको टोलीसँग नेपालमा आयुर्वेद उपचार सेवा र आयुर्वेद शिक्षाको विकासको बारेमा छलफल भएको प्रमुख मिश्रले बताईन ।
उक्त भेटघाटमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत प्रभाकर मिश्र, हस्पिटलका निर्देशक डा. शिवराज जोशी, डा. मनोज यादव, नेपालगन्ज हेल्थ क्याम्पसका ल्याब संयोजक ज्योती बाल्मिकी, आयुर्वेद हस्पिटलमा कार्यरत एचए सञ्जिव चौधरी, सम्झना चौधरी, पदमा थापा लगायतको उपस्थिती रहेको थियो । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल निजी क्षेत्रबाट संचालिन १५ शैयाको नेपालको पहिलो अस्पताल हो । जसलाई नेपालगन्ज हेल्थ क्याम्पसले संचालन गरेको हो ।
आधुनिक प्रविधि र उपकरण सहित संचालनमा आएको अस्पतालमा पाइल्स, फिसर, हाडजोर्नी, नशा च्यापिएको, स्त्री रोग, योन रोग लगायतका समस्याहरुको विशेषज्ञद्धारा उपचार गरिन्छ । नेपालगन्ज हेल्थ क्याम्पसले डिप्लोमा इन फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी विषयहरुमा विगत १५ वर्ष देखी अध्यापन गराउँदै उत्कृष्ट नतिजा हासिल गरिरहेको छ ।

……….
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले स्थापनाको सुरुआतदेखि सामाजिक कार्य अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, मानवसेवा आश्रम, भेरी अस्पताल लगायतका ठाउँमा फलफुल वितरण गरेको थियो । नेपालगन्ज हेल्थ क्याम्पसले आगामी दिनमा एचए आयुर्वेद तिन वर्षे, एचए आयुर्वेद फार्मेसी तिन वर्षे कोर्ष संचालन गर्ने तयारी गरिरहेको छ । यसका साथै कलेजले बैदेशिक रोजगारमा जाने महिलाहरुको लागि पेशा व्यवसायलाई सम्मानित, मर्यादित, सुरक्षित, भरपर्दो एवम थप आय मुलुक बनाउनको लागि केयर गिभर कार्यक्रम बिपिएच, सिभिल एवम् कम्प्युटर इन्जिनियरिङका शैक्षिक कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको नेपालगन्ज हेल्थ क्याम्पसका प्रिन्सिपल प्रभाकर मिश्रले कालपृष्ठ दैनिकलाई बताए ।