‘निशु’ ग्लोबल प्रेस जर्नलको नेपालका लागि एसोसियट रिपोर्टर नियुक्त
Thursday, February 9th, 2023, 10:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगनज, २६ माघ
नेपालगन्जमा रहेर सक्रिय पत्रकारिता गरिरहेकी अमृता जैशी ‘निशु’पत्रकारिताको एक विश्वव्यापी संस्था अमेरिका स्थित ग्लोबल प्रेस जर्नलको नेपालका लागि एसोसियट रिपोर्टर नियुक्त भएकी छन् । रेडियोमा बोल्ने सपनाका साथ करिब १० बर्ष अघि सुर्खेतबाट टिकापुर झरेर निशुले आफ्नो संचार कर्मको यात्रा सुरु गरेकी थिईन् ।
कैलालीको टिकापुरमा करिब एक बर्षको रेडियो पत्रकारिता पछि यसै क्षेत्रमा थप केही गर्ने आशा लिएर निशु नेपालगन्ज झरेकी थिईन् । नेपालगन्जमा रेडियोसंगै छापा र श्रव्यदृश्य पत्रकारिताको अनुभव लिएकी निशुसँग करिब एक दशकको पत्रकारिता अनुभव छ । निशुले प्रशिक्षार्थी रिपोर्टरका रुपमा तिन महिनाको तालिम लिएपछि ग्लोबल प्रेसको न्युजरुममा रिपोर्टरका रुपमा प्रवेश पाएकी हुन् ।
अंग्रेजीसंगै नेपाली भाषामा पनि स्टोरी प्रकाशित हुने कुराले थप हौस्याएको भन्दै निशुले यस सफलताले आफुलाई संचार क्षेत्रमा काम गर्न थप उर्जा मिलेको बताईन् । आफनो पेशाबाट आफ्नो ठाउँ र देशलाई चिनाउन सक्दो कोसिस गर्ने उनले बताईन् ।