तेस्रो नेपालगन्ज फोटो फेस्टिवलका लागि फोटो आवेदन खुला
Friday, February 10th, 2023, 6:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ माघ
तेस्रो नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गते सम्म रहेको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल लकडाउन पछि तेस्रो संस्करण गर्न लागिएको हो ।
९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ । विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र विद्यागत रुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको छ ।
वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माइल रहेका छन् । यस वर्षदेखि कृषि बिधा थप गरिएको छ ।
हरेक बिधामा १ जना व्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् nepalgunjphoto (at) gmail.com मा फोटो पठाउन सकिने छ ।
विगतमा लुम्विनी, कर्णाली र सुदुरपश्चिममा खिचिएका फोटोहरु मात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्ष देखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
फेस्टिवल दुई दिन नेपालगन्जमा आयोजना हुनेछ । यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
यस अवसरमा २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।