कौशिल्यानगरमा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न
Friday, February 10th, 2023, 7:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २७ माघ
बाँकेको कोहलपुर कौशिल्यानगरमा शुक्रबार निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशानालय बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेले आयोजना गरेको शिविरमा ५ सय २० जनाले सेवा लिएका थिए ।
कोहलपुर नगरपालिका वडा नम्बर १ (क) लाईन टोल कौशिलानगरमा भएको स्वास्थ्य शिविरमा आँखा, छाला, बाथ, स्वासप्रश्वास, पाईल्स, फिस्टुला, मलपित्त, कबजियत, जन्डीस, स्त्री तथा यौनरोग लगायतका विभिन्न रोगहरुको चेकजाँच गरिएको थियो ।
स्वास्थ्य शिविरमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समिति सदस्य अक्षरी पोखरेल, कोहलपुर नगरपालिका वडा नम्बर १ अध्यक्ष बद्री प्रसाद जैशी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल कुमार चौधरी, खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनाल, कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप ओली, वरिष्ठ बैद्य सीताराम चौधरी, वरिष्ठ कविराज निरिक्षक डा. गीता रेग्मी लगायतको सहभागिता रहेको थियो ।
शिविरले स्थानीय जनताको स्वास्थ्य अवस्थालाई सुधार गर्न सहयोगी भुमिका खेलेको स्वास्थ्य शिविरमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समिति सदस्य अक्षरी पोखरेलले बताईन । शिविरमा आएका विरामीलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो ।

……….
बाँकेमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिमा आम नागरिकको चासो बढदै गएको छ । आयुर्वेद सेवाहरु उपलब्ध गराउनका लागि स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र मार्फत स्थानीय तहमा आयुर्वेद सेवाको विस्तार गर्ने काम भैरहेको छ । जसले गाउँघरका नागरिकका स्वास्थ्य समस्याहरुलाई कम गर्न सहयोग गर्ने गरेको खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख खनालले बताए ।