लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
Sunday, February 12th, 2023, 6:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २९ माघ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराएका हुन् । आइतबार १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको भएपनि हावाहुरीले प्रदेशसभा परिसरमा टाङ्गिएको टेन्ट उडाएपछि केहीबेर ढिलाइ भएको थियो । समारोहमा आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरी मुख्यमन्त्री भएको ठिक एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको पाएको हो । गत पुस २८ मा मुख्यमन्त्री गिरीले शपथ लिएका थिए । यस अघि विना विभागीय रहेका दुई जना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित पाँच, माओवादीबाट ३ र अन्य साना दलबाट एक–एक जनागरी १० जनाको मन्त्रिमण्डल विस्तार गरिएको हो । सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुङ्गो लागेसँगै मन्त्रीहरुको नाम दलको बैठकबाट निर्णय गरिएको थियो ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री कृष्णा केसीलाई नियुक्त भएका थिए । एमालेबाट विष्णु पन्थी स्वास्थ्यमन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका छन् । यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकारमा सहभागी भएका छैनन् ।राप्रपाले कपिलवस्तुका जानकीप्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय जिम्मेवारीसहित सरकारमा पठाएको छ । जनमत पार्टीबाट रुपन्देहीबाट निर्वाचित दलका नेता चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी भने सरकारमा नजाने निर्णय गरेको थियो ।