बेचबिखन आरोपमा होटेल सञ्चालक पक्राउ
Wednesday, February 22nd, 2023, 4:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० फागुन
युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उप-महानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ ।
होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
घोराहीकी २० वर्षीया युवतीलाई भारत चण्डीगढमा पुर्याएर बेचबिखन गरेको उनीहरूमाथि आरोप छ । राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले ती युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत पुर्याएको खुलेको प्रहरीले बताएको छ ।
उनीहरूले चण्डीगढस्थित एक कोठीमा ती युवतीलाई बेचबिखन गरेको प्रहरीको दाबी छ । युवतीकी आमाले गत माघ २२ मा जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो ।
भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको एसपी वीरबहादुर वलीले जानकारी दिए ।
‘युवती त्यहाँ बस्दिनँ भनेपछि बन्धक बनाएर यौनकार्यमा लाग्न बाध्य पारेको भन्ने खुलेको छ,’ उनले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’
युवतीको उद्धार भएसँगै ती होटल सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आफूलाई राखेको भारतको उक्त कोठीमा अन्य युवती पनि रहेको ती युवतीले प्रहरीलाई जानकारी गराएकी छन् ।
पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।