बाँके पर्यटन कार्यालयका निर्देशक दिपक सहित ६ जना विरुद्ध भ्रष्टाचारको आरोप
Thursday, February 23rd, 2023, 7:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० फागुन
पर्यटन कार्यालय बाँकेका तत्कालिन कार्यकारी निर्देशक दिपक बहादुर बुढाथोकी सहित ६ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
बाजुरा काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवद्र्धनको लागि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको उनीहरुलाई आरोप लागेको छ ।
पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक बुढाथोकी सहित तत्कालीन सव–इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव–इन्जिनियर दिपेश महतारालाई गैरकानुन काम गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
बाजुरा जिल्लाको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको तथा निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरी, झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरेर एक लाख ५६ हजार पाँच सय ५३ हजार रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको थियो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड (ग) र खण्ड (ङ) को कसुर देखिंदा निजहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१०) बमोजिम एक लाख छपन्न हजार पाँच सय त्रिपन्न रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गर्नका लागि आरोप पत्रमा माग गरिएको छ ।
यसैगरी खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव विर बहादुर बुढाले योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको शर्त पालना नगरी वास्तविक रुपमा फिल्डमा नभएको र नगरेको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई उक्त नापी किताब, ठेक्का बिल लगायतका कागजातहरु गैरकानूनी लाभ लिने बदनियतले खप्तड पर्यटन विकास समितिमा पेश गरी भुक्तानी लिएको हुनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० को कसुरमा कारबाहीका लागि माग गरिएको छ ।
साथै खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञान बहादुर शाहीले फिल्डमा सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न नभएतापनि सम्झौता बमोजिम सम्पन्न भएको भनी निजले अनुगमन गरी गलत सिफारिस गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुर भएकोले निजलाई कारबाहीका लागि माग सहित बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
यसैगरी मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६–०७७ मा दैलेख गुराँस गाउँपालिका वडा नम्बर ६ मा स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको आरोपमा दैलेख गुुराँस गाउँपालिकाका तत्कालिन इन्जिनियर सरोज कुमार दाहाल र तत्कालिन सव इन्जिनियर नविक कुमार विसले आपसी मिलेमतो गरी भ्रष्टाचा गरेको आरोप लागेको छ । उनीहरुले निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरित गलत नापी किताब, उपभोक्त समिति सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन समेत यारी गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपुर्वक वास्तविक भएको कार्यलाई लुकाउने काम गरेका थिए ।
उनीहरुलाई पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा(२) बमोजिम कसुर दिएको हुँदा कारबाहीका लागि विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।