भारतीय साईकल यात्रीलाई बाँकेमा स्वागत
Thursday, February 23rd, 2023, 7:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० फागुन
भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि आएका भारतीय साईकलयात्रीहरुलाई बाँकेमा स्वागत गरिएको छ । बुधबार कोहलपुरमा भारतीय साइकल यात्री टिमलाई नेपालगन्ज साईक्लिङ क्लबले स्वागत गरेको हो । भारतको राजधानी नयाँ दिल्लीबाट यात्रा सुरु गरेको टिम नेपालको राजधानी काठमाडौंसम्मको १ हजार ४४ किलोमिटरको यात्रामा निस्किएको हो । साईकल टोलीमा ७ जना साईक्लिस्ट र दुई अफिसियल रहेका छन् ।
२० फेब्रअरीमा भारतको नयाँ दिल्ली स्थित इन्डिया गेटबाट सुरु भएको साईकल यात्रा २५ फेब्रुअरी नेपालको राजधानी काठमाडौंमा पुगेर सम्पन्न हुनेछ ।
बुधबार भारतीय साईकल यात्रीको कोहलपुरमा स्वागत गरिएको नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए । उनीहरुलाई कोहलपुरमा स्वागत गर्दै सफल यात्राको लागि शुभकामना दिएको निरौलाले बताए । दुइ देशबिचको आपसी सदभाव र सम्बन्धलाई थप प्रगाढ गराउन साईकल यात्राले सहयोग गर्ने भारतबाट साईकल यात्राका लागि आएको द पेडलर्सका रभिन्दर सिंह ओभरायले बताए । आयोजक टिमका जसप्रित सिंहका अनुसार भारतको विभिन्न सहरबाट साईकल यात्रामा सहभागि मध्येका सद्भावना दुतका रुपमा कनवर गिल यात्रामा सहभागि छन् । यसैगरी टिममा मेघा जैन, बिनिता शर्मा, डा. मुस्तफा, डा. राहुल, आसिफ मल्वासी, रबिन्दर कुमार सिंह रहेका छन् ।