पत्रकार खान सम्मानित
Saturday, February 25th, 2023, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ फागुन
पत्रकार (गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता) सिराज खान सम्मानित भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सँघको ३१ औँ साधारणसभाको अवसरमा शनिबार खानलाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सँघको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री र सोही प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र नेपालगन्ज उद्योग वाणिज्य सँघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान पत्र तथा नगदर प्रदान गरेर समाचारदाता खानलाई सम्मानित एवं पुरस्कृत गरे ।
सो अवसरमा सँघका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल र पूर्व सदस्य मिना श्रेष्ठ प्रदेश सभा सांसदमा निर्वाचित भएकोमा दुबैलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, उत्पादन गर्ने उद्योग लगायत सबैभन्दा पहिले सदस्यता नवीकरण गराउने सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो ।